- चिरफार डटकम, विराटनगर ४४३ पटक हेरिएको
मंगलबार, कार्तिक २५, २०८२ समय : १४:४३:१९ , ४ महिना अगाडि
प्रतिनिधि सभा पुनर्स्थापनाको माँग गर्दै मंगलबार विराटनगरमा नेकपा एमालेले मोटरसाइकल र्याली निकालेका छन् । नेकपा एमालेको विराटनगर महानगर कमिटीले निकालेको मोटरसाइकल र्यालीमा बाक्लो संख्यामा नेता तथा कार्यकर्ताहरूले सहभागिता जनाएका थिए ।
२०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलनपछि गठन भएको अन्तरिम सरकारका प्रधानमन्त्री सुशिला कार्की नेतृत्वको सरकारले प्रतिनिधि सभा विघटनको सिफारिस गरेका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्री परिषद्को बैठकले सिफारिस गरेको प्रतिनिधि सभा विघटनलाई सदर गरेका थिए ।

प्रतिनिधि सभा पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यका साथ मोटरसाइकल र्याली निकालेको नेकपा एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष बलराम गिरीले बताए । जेन्जी आन्दोलनको मागलाई सम्बोधन गर्नका लागि प्रतिनिधि सभा पुनर्स्थापना आवश्यक रहेकोले प्रतिनिधि सभा पुनर्स्थापना हुनु पर्ने अध्यक्ष गिरीले बताए ।
नेकपा एमालेको विराटनगर पाञ्चालीस्थित मोरङ जिल्ला पार्टी कार्यालयबाट निस्केको मोटरसाइकल र्याली पुष्पलाल चौकमा पुगेर समापन भएको थियो । नेकपा एमालेका नेता गुरु बराल, बिनोद ढकाल, पर्शुराम बस्नेत मोटरसाइकल र्याली सहभागी भएका थिए ।