अर्धाखाँचीका खेलकुद प्रतिनिधि प्रकाश महतको विराटनगर सडक दुर्घटनामा मृत्यु

  • ... ३९१  पटक हेरिएको

सोमबार, फाल्गुण ०८, २०७९ समय : १२:०४:५६ , २ वर्ष अगाडि

  • चिरफार डटकम, विराटनगर

नेकपा एमाले निकट नेपाल खेलकुद महासंघ (नेकोस) को दोस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी हुन लुम्बिनी प्रदेशको अर्धाखाँची जिल्लाबाट आएका प्रकाश महतको आइतबार राती विराटनगरमा सडक दुर्घटनामा मृत्यु भएको छ ।

नेपाल खेलकुद महासंघको फागुन ७, ८ र ९ गते विराटनगरमा दोस्रो राष्ट्रिय महाधिवेश भईरहेको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन ७ गते विराटनगरमा उद्घाटन गरेको दोस्रो राष्ट्रिय महाधिवेशनमा सहभागी महतको आइतबार रातीनै सडक दुर्घटनामा मृत्यु भएको हो । विराटनगर २ स्थित विराटनगर नर्सिङ होमपूर्व शंकरपुर मार्गको खाली मैदानमा खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोह चलेकोे थियो ।

विराटनगर बरगाछी स्थित होटल मनास्लु ईनमा खेलकुद प्रतिनिधिहरुलाई खानाको व्यवस्थापन गरिएको छ । भने विराटनगरका विभिन्न होटलहरुमा प्रतिनिधिहरुलाई आयोजकले बसोवासको व्यवस्थापन गरेको छ । आइतबार राती ११ बजे होटल मनास्लु ईनबाट खाना खाएर मोटरसाइकलमा सवार भई बाहिर निस्केका महतको पछाडीबाट आएको अर्को मोटरसाइकलले ठक्कर दिएको थियो । विराटनगर स्थित नोबेल अस्पतालमा उपचारकै क्रममा महतको मृत्यु भएको छ ।

होटल मनास्लु ईनबाट मोटरसाइकलमा २ जना चढेर बाहिर निस्केका थिए । मोटरसाइकल चलाउने साथीलाई केही भएन तर पछाडी बसेका महतको मृत्यु भएको छ । महत चढेको मोटरसाइकलमा पछाडीबाट ठक्कर दिएका अर्का मोटरसाइकलका चालक सामान्य घाइते भएर खतरा मुत्त रहेको मोरङ प्रहरीका प्रमुख दिपक पोखरेलले जानकारी गराए ।

नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको सोमबार बिहान बसेको बैठकले महतलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक प्रस्ताव पारित गरेको छ । नेकपा एमाले प्रदेश नं. १ कमिटिका इन्र्चाज राजेन्द्र गौतमा, प्रदेश अध्यक्ष तुलसी न्यौपानेसहितका नेताहरु श्रद्धाञ्जली सभामा सहभागी भएका थिए । मृत्तक महतको परिवार अर्धाखाँचीबाट सब लिन विराटनगर आइरहेको र मृत्तक महतको सब परिवारलाई जिम्मा लगाउने तयारी भईरहेको एसपी पोखरेलले बताए ।