कोशी प्रदेशमा ५ अर्ब ३१ करोडको क्षति

  • चिरफार डटकम, विराटनगर ९८  पटक हेरिएको

शुक्रबार, कार्तिक २८, २०८२ समय : १५:३२:२१ , ४ घन्टा अगाडि

कोशी प्रदेशमा जेन्जी आन्दोलन र अविरल वर्षाका कारण ५ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति भएको छ । २०८२ भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन र असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण ५ अर्ब ३१ करोड रुपैयाँको क्षति भएको विवरण सार्वजनिक गरिएको छ ।

कोशी प्रदेश सरकारले शुक्रबार विराटनगरमा एक कार्यक्रम गरेर जेन्जी आन्दोलनको क्रममा ७७ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरे ।

जसमा भौतिक संरचना, सवारी साधन, फर्निचर, उपकरण र सूचना प्रणालीका सामग्री रहेका छन् । कोशी प्रदेश सरकारले असोज १७, १८ र १९ गतेको अविरल वर्षाका कारण ३ अर्ब ५६ करोड रुपैयाँ बराबरको क्षति भएको विवरण सार्वजनिक गरे ।

यस बाहेक विराटनगर महानगरपालिकाले जेन्जी आन्दोलनको क्रममा ९८ करोड रुपैयाँको भौतिक संरचना जलेको बेग्लै विवरण सार्वजनिक गरेका छन् ।

कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राई, सोही मन्त्रालयका राज्य मन्त्री भुमिप्रसाद राजवंशी र प्रदेश सरकारका विभिन्न समितिका सभापतिहरूको उपस्थितिमा मन्त्रालयले क्षतिको विवरण सार्वजनिक गरेका थिए ।

भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईले प्रदेशमा क्षति भएको भौतिक संरचनाको अतिआवश्यक काम सुरु भइसकेको जानकारी गराए । संसदीय पत्रकार मञ्च कोशी प्रदेशले कार्यक्रमको आयोजना गरेका थिए ।