मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको विराट व्यापार प्रदर्शनीको तयारी सुरु गर्‍यो

  • ब्रह्मदेव यादव, विराटनगर ४९९  पटक हेरिएको

आइतबार, कार्तिक ३०, २०८२ समय : १४:३५:५३ , ३ दिन अगाडि

मोरङ उद्योग व्यापार संघले विराटनगरमा आयोजना गर्न लागेको विराट व्यापार प्रदर्शनीको तयारी सुरु गरेको छ । मोरङ उद्योग व्यापार संघले २०८२ साल पुस ९ देखि १९ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फको ३ बेग्ला बेग्लै खुल्ला मैदानमा प्रदर्शनी आयोजना गर्न लागेको हो ।

मोरङ उद्योग व्यापार संघका सचिव अमित सारडालाई विराट व्यापार प्रदर्शनीको संयोजक तोकेको छ । अनुपम राठी मोरङ उद्योग व्यापार संघको अध्यक्षको जिम्मेवारी सम्हाली सकेपछि पहिलो पटक प्रदर्शनीको आयोजना गर्न लागेको हो । अध्यक्ष राठीले आयोजना गर्न लागेको पहिलो प्रदर्शनीलाई भव्य बनाउने गरी तयारी सुरु गरिएको हो ।

मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले प्रत्येक २–२ वर्षमा आलोपालो गरेर विराटनगरमा विराट व्यापार प्रदर्शनीको आयोजना गर्ने गरेका छन् । उद्योग संगठन मोरङले २०८१ सालमा विराटनगर महानगरपालिकाको वडा नं. १४ जतुवा स्थित डिग्री क्याम्पसको मैदानमा प्रदर्शनीको आयोजना गरिसकेका छन् ।

मोरङ उद्योग व्यापार संघले आफ्नो पालो अनुसार विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ रहेको ३ बेग्ला बेग्लै खुल्ला मैदानमा प्रदर्शनी आयोजना गर्ने तयारी गरेको हो । संघले आयोजना गर्न लागेको प्रदर्शनी स्थलको सरसफई सुरु गरेको छ ।

संघका सचिव एवं विराट व्यापार प्रदर्शनी (विराट ट्रेड एक्स्पो) का संयोजक अमित सारडाले २०८२ साल पुस ९ देखि १९ गते अथार्त (सन् २०२५ डिसेम्बर २४ तारिखदेखि सन् २०२६ जनवरी ३ तारिख) सम्म विराट ट्रेड एक्स्पो आयोजना गर्न लागेको बताए । जेन्जी आन्दोलनपछि स्थिर अवस्थामा रहेको औद्योगिक क्षेत्रलाई चलायमान बनाउन एक्स्पोको आयोजना गर्न लागेको संयोजक सारडाले बताए ।