- ब्रह्मदेव यादव, विराटनगर ३६७ पटक हेरिएको
आइतबार, मंसिर १४, २०८२ समय : १४:१२:५८ , २ दिन अगाडि
विराटनगरमा खुलेको प्राइम अस्पतालले आइतबारदेखि बिरामीहरूका लागि उपचार सेवा सुरु गरेको छ । स्वास्थ्य क्षेत्रमा २८ वर्षको अनुभव बोकेका युवा उद्यमी सनातन मण्डलले सबै रोगको उपचार सेवा प्रदान गर्ने गरी ११ करोड रुपैयाँको लगानीमा २५ बेर्डको प्राइम अस्पताल सञ्चालनमा ल्याएको छ ।

अस्पतालका सञ्चालक र अस्पतालमा कार्यरत डाक्टर एवं डाक्टरका बुवा आमाले आइतबार प्राइम अस्पतालको उद्घाटन गरेका छन् । प्राइम अस्पतालको उद्घाटन समारोहमा उद्योगी, व्यवसायी, डाक्टर, राजनीतिक दलका पदाधिकारीदेखि सबै क्षेत्र, तह र तप्काका विशिष्ट व्यक्तिहरू सहभागी रहेका थिए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका वरिष्ठ उपाध्यक्ष एवं मोरङ उद्योग व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुन्दडा, उद्योगी नरेश राठी, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष उद्योगी राजकुमार अग्रवाल सहित ठुलो संख्यामा उद्योगी व्यवसायी प्राइम अस्पतालको उद्घाटन समारोहमा सहभागी भएका थिए ।

उद्घाटन समारोहमा सहभागी भएका विशिष्ट व्यक्तिहरूले प्राइम अस्पतालका सञ्चालक सनातन मण्डल, डा. रमेश चौरसिया, डा. रंजिव यादव, डा. अजय महतो, डा. मनिष अग्रवाल र डा. टेकनारायण यादवलाई बधाई दिएका छन् । डा. रमेश चौरसिया प्राइम अस्पताल सञ्चालक समितिका अध्यक्ष रहेका छन् । प्राइम अस्पतालबाट आइतबारदेखि एक साथ १५ जना दक्ष विशेषज्ञ डाक्टरहरूले सेवा सुरु गरेका छन् ।

अस्पतालका सञ्चालक सनातन मण्डलले विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित अस्पताल चौकमा प्राइम अस्पताल सञ्चालनमा ल्याउन ११ करोड रुपैयाँ खर्च भएको बताए । अस्पताल सञ्चालनमा ल्याउन ८ करोड र ३ करोडको मेसिन भित्र्याउँदा ११ करोड रुपैयाँ खर्च भएको सञ्चालक मण्डलले बताए ।

प्राइम अस्पतालमा उपचार सेवा लिन आउने बिरामीलाई विशेषता युक्त गुणस्तरीय सेवा मार्फत निको पारेर मात्रै घर पठाउने सञ्चालक मण्डलले बताए । विराटनगरको अस्पताल चौकमा पहिला गोल्डेन अस्पताल रहेको ५ तल्ले भवनमा यतिखेर प्राइम अस्पताल सञ्चालनमा ल्याएको हो ।
प्राइम अस्पतालको नजिक ४ कठ्ठा क्षेत्रफलको जग्गामा ३ वटा बेग्लाबेग्लै पार्किङ स्थल निर्माण गरिएकोले अस्पतालमा उपचार सेवा लिन आउने जोकोहीलाई पार्किङको समस्या नहुने सञ्चालक मण्डलले बताए ।