- चिरफार डटकम, विराटनगर ५७२ पटक हेरिएको
आइतबार, मंसिर २१, २०८२ समय : १४:५५:२३ , १ महिना अगाडि
जनता समाजवादी पार्टी नेपाल मोरङले २८ बुँदे माँग राखेर आइतबार सिडियो कार्यालय मोरङमा धर्ना दिएका छन् ।

दलित र महिलाका लागि बेग्लै निर्वाचन क्षेत्र, स्थानीय तहलाई प्रदेश मातहत राख्ने व्यवस्था खारेज, जनसंख्याको आधारमा प्रतिनिधिको व्यवस्था जनताद्वारा प्रत्यक्ष निर्वाचित राष्ट्रपति निर्वाचन प्रणालीको व्यवस्था पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रादेशिक जनसंख्याको आधारमा राष्ट्रिय सभामा प्रतिनिधिको व्यवस्था लगायत २८ बुँदे माँग राखेर जनता समाजवादी पार्टी नेपाल मोरङले आइतबार सिडियो कार्यालय मोरङमा ३ घण्टासम्म धर्ना दिएका छन् । आइतबार १२ बजेदेखि सुरु भएको धर्ना कार्यक्रम २ बजे सकिएको थियो ।

विगतमा भएको आन्दोलनको बेला गठन गरिएको न्यायिक छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने जसपा नेपालको माँग छ । अगाडी सारिएको २८ बुँदे माँग सम्बोधन गर्नको लागि संविधान संशोधन गर्नुपर्ने जसपा नेपालको मुख्य माँग रहेको छ ।

जसपा नेपाल मोरङका अध्यक्ष राजकुमार यादवको अध्यक्षतामा सिडियो कार्यालय मोरङमा आयोजित धर्ना कार्यक्रममा पार्टीका केन्द्रीय उपमहासचिव रेखा यादव, केन्द्रीय सदस्य सदिना खातुन, सुरेशकुमार सिंह मण्डल, कुन्ता राई, मोरङ उपाध्यक्ष मन्तलाल यादव र मो. हकमुदिन, सचिव हरिनायारण साह, कोषाध्यक्ष विनिता सिंह, समाजवादी युवा संघ मोरङका अध्यक्ष सुशिल यादव सहित पार्टीका नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।
जसपा नेपालले मंसिर १० गते प्रधानमन्त्री सुशिला कार्कीलाई २८ बुँदे माँग समेटिएको ज्ञापन पत्र बुझाएर चरणबद्ध आन्दोलनको घोषणा गरेका छन् । जसपा नेपालले पुस १२ गते विराटनगरमा कोशी प्रदेश स्तरीय विशाल विरोध सभाको आयोजना गर्ने तयारी गरिरहेको छ ।