बिरामीलाई उपचारमा छुट दिने विषयमा न्यूरो र नोबेल अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर

  • ब्रह्मदेव यादव, विराटनगर ४६८  पटक हेरिएको

आइतबार, मंसिर २१, २०८२ समय : १७:३७:३५ , १ महिना अगाडि

बिरामीलाई उपचारमा छुट दिने विषयमा विराटनगरका दुई ठुला स्वास्थ्य संस्था न्यूरो कार्डियो एण्ड मल्टिस्पेशियालिटी हस्पिटल र नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

न्यूरो अस्पतालका अध्यक्ष डा. विरेन्द्रकुमार बिष्ट र नोबेल मेडिकल कलेजका संरक्षक डा. सुनिल शर्माको उपस्थितिमा आइतबार बिरामीलाई सहुलियतमा उपचार सेवा प्रदान गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता अनुसार न्यूरो अस्पतालले नोबेल अस्पतालमा पठाउने क्यान्सर रोगका बिरामीले उपचारमा २५ प्रतिशतसम्म छुट पाउने छ । जसका लागि न्यूरो अस्पतालले आफ्नो लेटर प्याडमा बिरामीको नाम उल्लेख गरेर पठाउनु पर्नेछ ।

यस बाहेक न्यूरो अस्पतालको सिफारिसमा नोबेल अस्पतालले १ वर्षमा १० देखि १५ जना बिरामीलाई किड्नी ट्रान्सफरमा ५० प्रतिशतसम्म छुट दिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । डा. सुनिल शर्माले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँमा काठमाडौँ मेडिकल कलेज सञ्चालन गरिरहेका छन् ।

विराटनगरको नोबेल मेडिकल कलेजमा केही समय भित्र किड्नी ट्रान्सफरको उपचार सेवा सुरु हुन लागेको छ । काठमाडौँ मेडिकल कलेजमा किड्नी ट्रान्सफर सेवा उपलब्ध छ ।

नोबेल कलेजका संरक्षक डा. सुनिल शर्माले विराटनगरको नोबेल मेडिकल कलेज र काठमाडौँको काठमाडौँ मेडिकल कलेजमा किड्नी ट्रान्सफर गर्न न्यूरो अस्पतालको सिफारिसमा उपचार सेवा लिन आउँने बिरामीलाई ५० प्रतिशतसम्म छुट दिने गरेको सम्झौता पत्रलाई कार्यान्वयन गर्ने बताए ।

न्यूरो र नोबेल मेडिकल कलेजमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी, नर्सिङ स्टाफ तथा अन्य कर्मचारीका लागि सीप विकास तालिम सञ्चालन गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । विराटनगरको न्यूरो अस्पतालमा उपचार सेवा लिन आउने भारतीय बिरामीको संख्या अत्याधिक हुने गरेको छ ।

भारतीय बिरामीलाई थप उपचार सेवा प्रदान गर्ने उद्देश्यका साथ न्यूरो र नोबेल अस्पताल बिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । तर भारतीय बिरामीले न्यूरो अस्पतालमा उपचार सेवा लिन जाँदा मोटो रकम छुट पाउँने छन् ।