- ब्रह्मदेव यादव, विराटनगर ११५६ पटक हेरिएको
मंगलबार, मंसिर २३, २०८२ समय : १३:२१:५९ , १ महिना अगाडि
नेपाल सरकारले ल्याएको भन्सार ऐनका विरुद्ध भन्सार एजेन्ट आन्दोलित बनेको छ । भन्सार एजेन्टले सुरु गरेको आन्दोलनको कारण मंगलबारदेखि विराटनगर भन्सार कार्यालय ठप्प भएको छ ।
भन्सार एजेन्टले सुरु गरेको आन्दोलनलाई विराटनगरको निजी क्षेत्रले समर्थन गरेका छन् । निजी क्षेत्रको तर्फबाट नेपाल उद्योग परिसंघ कोशी प्रदेश समिति र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति विराटनगरले भन्सार एजेन्ट संघको आन्दोलनलाई समर्थन गरेका हुन् ।

नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभा सदस्य उद्योगी पवन सारडाले उद्योगी व्यवसायी र भन्सार एजेन्टलाई कारबाही गर्ने गरी सरकारले ल्याएको भन्सार ऐनको विरोध गरेको बताए ।
सरकारले कर्मचारी तन्त्रलाई थप बलियो बनाउने तथा उद्योगी व्यवसायी र एजेन्टलाई दण्डित गर्ने गरी ल्याएको भन्सार ऐनका विरुद्ध भन्सार एजेन्टले सुरु गरेको आन्दोलनलाई आफ्नो पूर्ण समर्थन रहेको बताए ।
सरकारले उद्योगी व्यवसायी सँग ब्याल्कमेल गर्ने गरी ल्याएको ऐन खारेज वा संशोधन नभएसम्म एजेन्टको आन्दोलनलाई समर्थन गर्ने अध्यक्ष सारडाले बताए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका अध्यक्ष उद्योगी राजेन्द्र राउतले भन्सार एजेन्टले फारम भर्दा जानअन्जानमा गल्ती वा त्रुटी भएमा शतप्रतिशत सम्म जरिवाना गर्ने गरी ल्याएको भन्सार ऐनलाई संशोधन गर्नु पर्ने अवस्था रहेको बताए ।

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार एजेन्ट महासंघ नेपालको आव्हानमा मंगलबारदेखि विराटनगर भन्सार कार्यालयमा काम बन्द गरेको बताए । भन्सार एजेन्ट महासंघ नेपालका केन्द्रीय सचिव प्रविण जोशीले भन्सार विभागले सरोकारवालाको माँग नसुनेकोले बाध्य भएर देशभरको भन्सार कार्यालय ठप्प पारेको बताए ।
भन्सार एजेन्ट महासंघ नेपालले उठान गरेको माँग सम्बोधन नभएसम्म अनिश्चित कालकालागि भन्सार बन्द कार्यक्रमलाई निरन्तरता दिने सचिव जोशीले बताए । मंगलबारदेखि भन्सार एजेन्टहरू विराटनगर भन्सार कार्यालयमा भेला भएर भन्सार कार्यालयबाट हुने आयात निर्यातको जाँच पासको काम ठप्प पारेका छन् ।
विराटनगर भन्सार कार्यालयलाई सरकारले दिएको लक्ष्यअनुसार प्रत्येक दिन १४ करोड भन्दा बढी रुपैयाँ राजश्व उठाउनु पर्ने जिम्मेवारी पाएको छ । तर भन्सार एजेन्ट आन्दोलित हुँदा राजश्व असुली प्रतिशत ठप्प भएको छ ।