- ब्रह्मदेव यादव, विराटनगर ६१७ पटक हेरिएको
मंगलबार, पुष ०१, २०८२ समय : १६:०१:०५ , ३ महिना अगाडि
विराटनगरमा नानी बाई रो मायरो कथा वाचन सुरु भएको छ । विराटनगरको अतिथि सदनमा मंगलबारदेखि सुरु भएको कथा वाचन बिहीबारसम्म चल्ने छ । प्रत्येक दिन दिउँसो २ बजेदेखि साँझ ६ बजेसम्म कथा वाचन भइरहेको छ ।
नानी बाई रो मायरो भारतको राजस्थानको एक ठाकुर परिवारमा आधारित कथा हो । जुन कथालाई राजस्थानको जोधपुरका २४ वर्षीय कथा वाचक गोवत्स श्री बिठ्ठल जी महाराजले मारवाडी भाषामा कथा वाचन गरिरहेका छन् ।

माहेश्वरी महिला मञ्च विराटनगरले नानी बाई रो मायरो कथा वाचनको आयोजना गरेका छन् । माहेश्वरी महिला मञ्च विराटनगरले उद्योगी एवं समाजसेवी राजेन्द्रप्रसाद मुन्दडालाई कार्यक्रमको संयोजकको जिम्मेवारी सुम्पिएको छ ।
माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष ललिता जाजु र कार्यक्रम संयोजक राजेन्द्रप्रसाद मुन्दडाले मंगलबार कथा वाचन स्थल अतिथि सदनमा युवा कथा वाचक श्री बिठ्ठल जी महाराजलाई स्वागत गरेका थिए ।
१५ वर्ष अघि माहेश्वरी महिला मञ्चले नै विराटनगरमा नानी बाई रो मायरो कथा वाचनको आयोजना गरेका थिए । त्यतिखेर माहेश्वरी महिला मञ्च विराटनगरले उद्योगी महेश जाजुलाई कार्यक्रमको संयोजकको जिम्मेवारी सुम्पिएको थियो ।
ठिक १५ वर्षपछि माहेश्वरी महिला मञ्चले नै विराटनगरमा कथा वाचनको आयोजना गरेका छन् । १५ वर्षअघि माहेश्वरी महिला मञ्चले विराटनगरमा आयोजना गरेको नानी बाई रो मायरोको राजस्थानकै जोधपुरका श्री राधाकृष्ण जी महाराजले कथा वाचन गरेका थिए ।
१५ वर्षपछि श्री राधाकृष्ण जी महाराजका भान्जा श्री बिठ्ठल जी महाराजले कथा वाचन गरिरहेका छन् । २४ वर्षीय महाराज बिठ्ठल जी २१ वर्षको उमेरदेखि कथा वाचनमा सक्रिय रहेका छन् ।