ओपेरा हाउस र जलपरी विराट ट्रेड एक्स्पोको मुख्य आकर्षण

  • ब्रह्मदेव यादव, विराटनगर ५८१  पटक हेरिएको

बुधबार, पुष ०२, २०८२ समय : १५:४०:३९ , ३ महिना अगाडि

मोरङ उद्योग व्यापार संघले पुस ९ गतेदेखि विराटनगरमा आयोजना गर्न लागेको अस्ट्रेलियाको ओपेरा हाउसलाई मुख्य आकर्षणको रूपमा प्रस्तुत गर्न लागेको छ ।

ओपेरा हाउस अस्ट्रेलियाको मुख्य आकर्षण डिस्प्ले हो । अस्ट्रेलिया घुम्न जाने जुनसुकै देशका नागरिक ओपेरा हाउस डिस्प्ले अगाडी फोटो खिचाएर सामाजिक सञ्जालमा पोस्ट गर्न तछाडमछाड गर्ने गर्छन् ।

मोरङ उद्योग व्यापार संघका सचिव एवं विराट ट्रेड एक्स्पोका संयोजक अमित सारडाले विराटनगरमा ओपेरा हाउसको अवलोकन गराउने गरी विराट ट्रेड एक्स्पोमा ओपेरा हाउसको डिस्प्ले सो गर्न लागिएको बताए । ओपेरा हाउस बाहेक जलपरीलाई विराट ट्रेड एक्स्पोमा मुख्य आकर्षणको रूपमा प्रस्तुत गर्न लागिएको छ ।

मोरङ उद्योग व्यापार संघले पुस ९ देखि १९ गतेसम्म विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खुल्ला मैदानमा विराट ट्रेड एक्स्पोको आयोजना गर्न लागेको छ । सुरक्षालाई ध्यानमा राखेर एक्स्पो स्थल वरिपरि सिमेन्टको पर्खाल वाल लगाउने काम भइरहेको छ ।

१ सय ५० रुपैयाँको टिकट काटेर विराट ट्रेड एक्स्पो स्थल प्रवेश गर्ने उपभोक्ताले ओपेरा हाउसको डिस्प्ले, जलपरी, राष्ट्रिय कलाकारको प्रस्तुति, मनोरञ्जनपूर्ण खेल सामग्री सहित नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी ४ देशका २ सय ४० स्टलको अवलोकन गर्न पाउने छन् ।

साथै छुट र सस्तो मूल्यमा स्वदेशी तथा विदेशी सामान खरिद गर्न पाउने उपभोक्ताका लागि अवसर मोरङ उद्योग व्यापार संघले जुराइ दिएको हो ।

संघले विराट ट्रेड एक्स्पोमा विभिन्न ८ वटा विषयमा आयोजना गर्न लागेको निःशुल्क सेमिनारको अवलोकन गर्न पाउने काम संघले आयोजना गर्न लागेको एक्स्पोमा ए.आई. डिजिटल लिटरेसी, साइबर क्राइम, कर तथा लेखा प्रणाली, साना तथा मझौला उद्योग र कृषि पर्यटन सम्बन्धी क्षेत्रका विज्ञहरूको प्रस्तुति रहने छ ।

संघका अध्यक्ष अनुपम राठीले बुधबारसम्म ९० प्रतिशत स्टल बुकिङ भइसकेको र स्टल बुकिङ हुने क्रम जारी रहेको बताए । जसमध्ये २७ वटा विदेशी स्टलले सहभागिता जनाउने गरी बुकिङ गरेको अध्यक्ष राठीले बताए । एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको अध्यक्ष राठीको भनाइ छ ।