- ब्रह्मदेव यादव, विराटनगर २६८ पटक हेरिएको
सोमबार, पुष ०७, २०८२ समय : १५:४३:४५ , २३ घन्टा अगाडि
यही पुस ९ गते बुधबारदेखि विराटनगरमा ७ दिने श्रीमद् भागवत कथा वाचन सुरु हुँदैछ । पुस १५ गते मंगलबारसम्म कथा वाचन हुनेछ । इस्कोन विराटनगरले श्रीमद् भागवत कथा वाचनको आयोजना गर्न लागेको हो । प्रसिद्ध कथा वाचक लाल गोविन्द दास प्रभुजीले श्रीमद् भागवत कथा वाचन गर्नुहुने छ ।
विराटनगर महानगरपालिकाको वडा नं. ९ रेम्बो मोड स्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा प्रत्येक दिन दिनको २ बजेदेखि साँझ ६ बजेसम्म भागवत कथा वाचन हुनेछ । अघिल्लो वर्ष इस्कोन विराटनगरले विराटनगर महानगरपालिकाको वडा नं. २ स्थित श्याम मन्दिरमा भागत कथाको आयोजना गरेका थिए । त्यतिखेर प्रसिद्ध कथा वाचक लाल गोविन्द दास प्रभुजीले नै ७ दिनसम्म भागवत कथा वाचन गरेका थिए ।
विराटनगरवासीको तर्फबाट पुनः लाल गोविन्द दास प्रभुजीको कथा सुन्न पाउनु पर्ने माँग आएकोले लगातार दोस्रो वर्ष भागवत कथाको आयोजना गर्न लागिएको इस्कोन विराटनगरका सचिव भानुभक्त जोशीले बताए । लाल गोविन्द दास प्रभुजीले भागवत सप्ताह अन्तर्गत भीष्मदेवको इस्तुती, भागवतको महिमा, ब्रह्माण्डको उत्पत्ति, भगवान् विष्णुको दशअवताको व्याख्या, भगवान् विष्णु देवको प्रकटे, बराह अवतार ध्रुव चरित्र, राजा भरत र अजामिल कथा, राम कथा, गजेन्द्र मोक्ष, कथा वाचन गर्ने छ ।
भागवत कथाको पाँचौँ दिन श्रीकृष्ण जन्मोत्सवमा आधारित रहेर कथा वाचन हुनेछ । छैटौँ र सातौँ दिन कृष्ण भगवानको सम्पूर्ण चरित्रको बारेमा कथा वाचन हुनेछ । भागवत कथा सुरु हुने पहिलो दिन पुस ९ गते बुधबार विराटनगरको जलजला रोड स्थित इस्कोनको कार्यालयबाट बिहान ८ बजे कलश यात्रा निस्कने छ ।
देवकोटा चौक, रामजानकी मन्दिर, पंचमुखी हनुमान मन्दिर हुँदै कथा वाचन स्थित सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा पुगेर कलश यात्राको समापन हुनेछ । भागवत कथा वाचनको अन्तिम दिन पुस १५ गते मंगलबार सिटी प्यालेस होटेल एण्ड रिसोर्टमा यज्ञको आयोजना गरिनेछ । जसका लागि काठमाडौँबाट २ जना पुजारी झिकाउन लागिएको सचिव जोशीले बताए । प्रत्येक दिन १ हजार विराटनगरवासीले कथा सुन्न पाउने छन् ।
भागवत कथा सुनिसकेपछि भक्तजनलाई प्रसाद ग्रहण गराएर मात्रै घर फर्काउने व्यवस्था मिलाइएको सचिव जोशीले बताए । तीन तहकै सरकारका विशिष्ट व्यक्तिदेखि उद्योगी, व्यवसायी राजनीतिकर्मी, सामाजिक, धार्मिक, क्षेत्रका व्यक्तिलाई कथा वाचन कार्यक्रममा सहभागिता जनाउन निम्तो पठाइएको सचिव जोशीले बताए ।