- ब्रह्ममदेव यादव, विराटनगर ५५२ पटक हेरिएको
शनिबार, पुष १२, २०८२ समय : १७:३०:०६ , ५ महिना अगाडि
जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उप्रेन्द्र यादवले नेपाली कांग्रेस र नेकपा एमालेका कारण देशले दुर्गती भोग्नु परेको धारणा व्यक्त गरेका छन् ।
कांग्रेस र एमालेले गरेको भ्रष्टचार तथा चरम बेतिथिका कारण भाद्र २३ र २४ गतेको जेन्जी आन्दोलन भएको अध्यक्ष यादवले जिकिर गरेका छन् ।

जनता समाजवादी पार्टी नेपालको कोशी प्रदेश समितिले शनिबार विराटनगरमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले जेन्जी आन्दोलनको माँग सम्बोधन नभईकन हुन लागेको प्रतिनिधि सभाको निर्वाचनले देशमा शान्ति बाहली हुन नसक्ने बताए ।
पहिला जेन्जी आन्दोलनको माँगलाई सम्बोधन गरौँ, त्यसपछि मात्रै निर्वाचनमा जाऔँ यादवको भनाई छ । जनता समाजवादी पार्टी नेपाल सडक आन्दोलन सँगै निर्वाचनको लागि तयार रहेको अध्यक्ष यादवले बताए ।
देशलाई अहिलेको अवस्थामा ल्याई पुर्याउन कांग्रेस र एमाले मुख्य दोषी रहेकोले फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा यी दुई दललाई मतदान नगर्न अध्यक्ष यादवले देशवासीलाई आग्रह गरेका छन् ।
हाल कायम रहेको नामाङ्कन र सिमाङ्कन प्रति असहमति जनाउँदै यसलाई सच्याउनु पर्ने माँग गर्दै अध्यक्ष यादवले पहिचानको आधारमा नामाङ्कन र सिमाङ्कन हुनु पर्ने बताए ।
प्रत्यक्ष निर्वाचित हुने राष्ट्रपति निर्वाचन प्रणाली र विश्वको ७१ वटा देशमा कायम रहेको पूर्ण समानुपातिक निर्वाचन प्रणाली जनता समाजवादी पार्टी नेपालको बटम लाइन रहेको अध्यक्ष यादवले बताए ।
जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेशका अध्यक्ष दीपक याख्याको सभापतित्वमा आयोजित विरोध सभालाई पार्टीका केन्द्रीय सह–अध्यक्ष रकम चेम्जोङले सम्बोधन गरेका थिए ।