लायन्स क्लब मिड सिटीको शिविरमा ३ सय ५० विद्यार्थीको आँखा परीक्षण 

  • चिरफार डटकम, विराटनगर ४६१  पटक हेरिएको

शुक्रबार, पुष १८, २०८२ समय : १४:४६:२१ , ४ महिना अगाडि

विराटनगर स्थित श्री सरस्वती माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ५० जना विद्यार्थीहरूको आँखा परीक्षण गरिएको छ । लायन्स क्लब मिड सिटीले शुक्रबार श्री सरस्वती माध्यमिक विद्यालय विराटनगरमा आँखा शिविरको आयोजना गरेका थिए ।

पछिल्लो समय बढ्दो मोबाइल प्रयोगका कारण विद्यार्थीहरूको आँखामा समस्या देखिन थालेपछि लायन्स क्लब मिड सिटीको सहयोगमा ३ सय ५० विद्यार्थीहरूको आँखा परीक्षण गराइएको श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजिता कोइरालाले जानकारी गराए ।

विद्यालयमा अध्ययनरत कक्षा ५ देखि १० सम्मका विद्यार्थीहरूले आँखा परीक्षण गराएका थिए । विद्यार्थी मात्रै नभइ विद्यार्थीका अभिभावक, शिक्षक, शिक्षिकाहरूले समेत आँखा परीक्षण गराएको लायन्स क्लब मिड सिटीका सदस्य शुभआशिष कोइरालाले बताए ।

श्री सरस्वती माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अजिता कोइराला, विद्यालयका प्रधानाध्यापक अनिता नेपाल, लायन्स क्लब मिड सिटीका अध्यक्ष अनुराग श्रेष्ठ सहित क्लबका पदाधिकारी आँखा शिविरमा सहभागि भएका थिए ।

लायन्स क्लब मिड सिटीले आफ्नो क्यालेन्डर अनुसार प्रत्येक महिना एक एक शिविर आयोजना गर्ने लक्ष्य अनुसार शुक्रबार विराटनगरको श्री सरस्वती माध्यमिक विद्यालयमा चौथो आँखा शिविर आयोजना गरेका थिए ।

क्लबले यस अघि विराटनगर–८ स्थित अशोस चौक, विरानगर–८ कै ज्ञानकुञ्ज आधारभुत विद्यालय र विराटनगर–१ स्थित श्री राधाकृष्ण भुपालमान सिंह कार्की माध्यमिक विद्यालयमा आँखा शिविरको आयोजना गरेका थिए । क्लबले चारवटै शिविर मार्फत १ हजार ५ सय जनाको आँखा परीक्षण गराएको सदस्य शुभआशिष कोइरालाले बताए ।