कांग्रेस फुटको संघारमा

  • ब्रह्मदेव यादव, विराटनगर १९१  पटक हेरिएको

आइतबार, पुष २०, २०८२ समय : १७:५७:२४ , २२ घन्टा अगाडि

नेपाली कांग्रेस फुटको संघारमा पुगेको छ । कांग्रेस संस्थापन पक्षले २०८३ वैशाख २८, २९, ३० र ३१ गते १५औँ राष्ट्रिय महाधिवेशन गराउने मिति तोकेको छ । तर संस्थापन इतर पक्षले २०८२ पुस महिना भित्र विशेष महाधिवेशन गराएरै छाड्ने लिएको अडानको कारण कांग्रेस फुटको संघारमा पुगेको हो ।

कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आ–आफ्नै अडानका कारण कांग्रेस फुटको संघारमा पुगेको हो ।

कांग्रेस सभापति देउवाका विरुद्ध विद्रोह गरेर महामन्त्रीद्वय थापा र शर्माले पुस महिना भित्रै काठमाडौँको भृकुटी मण्डपमा विशेष महाधिवेशन गराएर छाड्ने गरी हल बुक गरिसकेपछि कांग्रेस पुनः १८ वर्ष अगाडीको अवस्थामा पुग्न लागेको राजनीतिक बहस सुरु भएको छ ।

१८ वर्ष अगाडी गिरीजाप्रसाद कोइराला पार्टी सभापति भएको बेला शेरबहादुर देउवा समूहले कांग्रेस विभाजन गरेका थिए । तर १८ वर्षपछि शेरबहादुर देउवा पार्टी सभापति भएको बेला महामन्त्रीद्वय थापा र शर्माले कांग्रेस विभाजन गराउने संघारमा पुगेका हुन् ।

कांग्रेसको संस्थापन पक्ष फागुन २१ गतेको प्रतिनिधि सभा निर्वाचन पछि मात्रै पार्टीको १५औँ राष्ट्रिय महाधिवेशन गराउने कार्य तालिका सार्वजनिक गरेका छन् ।

तर संस्थापन इतर समूहका महामन्त्री थापाले आफूलाई विशेष महाधिवेशनबाट पार्टी सभापति बनाएर प्रधानमन्त्रीको रूपमा प्रस्ताव गरेर प्रतिनिधि सभाको निर्वाचनमा जानु पर्ने अडान लिएका छन् । त्यसका लागि पुस महिना भित्रै विशेष महाधिवेशन गराउन महामन्त्री थापाले तयारी सुरु गरेका छन् ।