- ब्रह्मदेव यादव, विराटनगर ६२९ पटक हेरिएको
मंगलबार, पुष २२, २०८२ समय : १३:४५:१५ , ४ महिना अगाडि
मारवाडी युवा मञ्च विराटनगरले नेत्रदान अभियान सुरु गरेका छन् । मारवाडी युवा दिवसको अवसर पारेर मारवाडी युवा मञ्च विराटनगरले मंगलबार विराटनगर महानगरपालिकाको वडा नं. ७ हाटखोला स्थित परमविश्रांति श्मशानघाटबाट नेत्रदान अभियान सुरु गरेको हो ।
मञ्चले परमविश्रांति श्मशानघाटमा नेत्रदान महादानको होडिङबोर्ड लगाएर अभियानको शुभारम्भ गरेका हुन् । मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीको टिमले विराटनगर आँखा अस्पताल सँग सहकार्य गरेर मृत्यु पश्चात् जो कोहीलाई नेत्रदान गर्न आव्हान गर्दै नेत्रदान अभियानको शुभारम्भ गरेको हो ।

मारवाडी युवा मञ्च विराटनगरका अध्यक्ष मोहित लालवानीले परमविश्रांति श्मशानघाटबाट सुरु भएको नेत्रदान महादान अभियानको प्रचार–प्रसारलाई विभिन्न मठमन्दिरसम्म पुर्याउने तयारी भइरहेको बताए । मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवालाले नेपालभरी रहेका मारवाडी युवा मञ्च मध्ये विराटनगरको मारवाडी युवा मञ्चका अध्यक्ष मोहित लालवानीको टिमले समाज परिवर्तनका लागि उत्कृष्ट काम गरिरहेको बताए ।

मारवाडी युवा मञ्च विराटनगरका तर्फबाट नेत्रदानका संयोजक जिनेन्द्र नौलखाले प्रत्येक वर्ष ७ हजार आँखाको माँग भइरहेको बेला ७ जनाले मात्रै आँखा दान गरिरहेको बताए । नेत्रदान अभियानको प्रचार–प्रसारलाई व्यापक बनाउन आजको आवश्यकता रहेको संयोजक नौलखाले बताए ।
नेपाल राष्ट्रिय मारवाडी परिषद्का सह–कोषाध्यक्ष फुलकुमार लालवानी, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, विराटनगर महानगरपालिका वडा नं. ७ का वडाध्यक्ष मधुबाबु तिवारी, परमविश्रांति श्मशानघाटका अध्यक्ष शतिश दुगड, पूर्व अध्यक्ष बेनिगोपाल मुन्दडा, नेपाल अग्रवाल सभा विराटनगरका अध्यक्ष राजकुमार अग्रवाल, गणेशमान सिंह फाउण्डेशन कोशी प्रदेशका अध्यक्ष श्याम पौडेल, उद्योगी एवं समाजसेवी चम्पालाल राठी, ओमप्रकाश अग्रवाल, मारवाडी युवा मञ्चका नेत्रदान संयोजक जिनेन्द्र नौलखा र विराटनगर आँखा अस्पताल, आँखा संकलन केन्द्रका संयोजक शिवचरण मेहता नेत्रदान अभियान शुभारम्भ कार्यक्रममा सहभागी थिए ।