जहाँ लुटिन्छ, फेरी त्यही पुग्छ लागुऔषध प्रयोगकर्ता

  • ब्रह्मदेव यादव, विराटनगर ५८४  पटक हेरिएको

सोमबार, पुष २८, २०८२ समय : १४:३५:५९ , ३ महिना अगाडि

जहाँ लुटपाट र कुटपिट हुन्छ, फेरी पनि लागुऔषध प्रयोगकर्ता नेपाली त्यही पुग्ने गरेको गोप्य रहस्य बाहिरिएको छ । मोरङ जिल्लाको विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको भारतको जोगबनी बजारमा प्रत्येक दिन नेपाली लागुऔषध प्रयोगकर्ता माथि लुटपाट र कुटपिट भइरहेको छ । तर पनि नेपाली लागुऔषध प्रयोगकर्ता लागुपदार्थ सेवन गर्न त्यही पुग्ने गरेको समाचार बाहिरिएको छ ।

भारतको बिहार राज्यस्थित जोगबनीको टिकुलिया बस्तीमा आधा दर्जन भन्दा बढी लागुऔषध बेचबिखन गर्ने अड्डा रहेका छन् । जुन लागुऔषध बेचबिखनको अड्डामा प्रत्येक दिन २ सय भन्दा बढी नेपाली लागुऔषध प्रयोगकर्ता लागुपदार्थ सेवन गर्न पुगिरहेका छन् । जसमा नेपाली युवासँगै युवती पनि लागुऔषध प्रयोगकर्ता रहेका छन् ।

नियमित लागुऔषध सेवन गर्न जोगबनी जानको संख्या बाक्लो नै छ । जोगबनीको लागुऔषध अड्डामा लागुपदार्थ सेवन गरेर बेहोस भइसकेपछि अधिकांश नेपाली माथि लागुऔषध बेचबिखन अड्डाका सञ्चालक र सञ्चालकले राखेका गुन्डाहरूले कुटपिट गरेर उनीसँग रहेको पैसा, मोबाइल, सुनको औँठी र सिक्री लुटपाट गरिरहेका छन् ।

लागुऔषध बेचबिखन अड्डाको नजिक भारतीय प्रहरीको ड्युटी तैनाथ गरिन्छ । तर पनि लुटिएको रकम बारे लागुऔषध प्रयोग कर्ता नेपालीले उजुरी गर्दा कुनै सुनुवाइ हुँदैन । उल्टै भारतीय प्रहरीले नेपाली लागुऔषध प्रयोग कर्तालाई कुटेर लखेटी रहेका छन् । र लखेट्ने क्रम जारी छ ।

लागुऔषध बेचबिखन अड्डाका सञ्चालक र ड्युटीमा रहेका भारतीय प्रहरी बिच अवैध रूपमा साठगाठ रहेकोले लुटपाट गरिएको रकम बाँडफाँड गर्ने गरेकोले लागुऔषध प्रयोग कर्ता नेपाली लुटिने क्रम जारी छ ।

नियमित लागुऔषध प्रयोगकर्ताले जोगबनीको लागुऔषध अड्डा जानुभन्दा अगाडी नेपाल तर्फ सीमान्त क्षेत्रमा रहेको पसलमा मोटो रकम राखेर जाने र फर्केर आएपछि केही रकम पसलका सञ्चालकलाई दिएर बाँकी रकम फिर्ता लिँदै नेपाल फर्किने गरेको समाचार प्राप्त भएको छ । यस बारे तीन तहकै नेपाल सरकार मौन रहनु रहस्यको विषय बनेको छ ।