सुनसरी–३ बाट किशोर विश्वासको उम्मेदवारी घोषणा

  • ब्रह्मदेव यादव, विराटनगर ६८७  पटक हेरिएको

बुधबार, पुष ३०, २०८२ समय : १४:३०:३९ , ३ महिना अगाडि

समावेशी समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष किशोरकुमार विश्वासले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यको लागि चुनाव लड्ने घोषणा गरेका छन् । सुनसरी–३ नेपाली कांग्रेसका वरिष्ठ नेता विजयकुमार गच्छदार र नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वप्रतिनिधि सभा सदस्य भगवती चौधरीको निर्वाचन क्षेत्र हो ।

अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसका गच्छदारलाई पराजित गरेर एमालेका चौधरीले सान्दार जित निकालेका थिए । बुधबार विराटनगरमा पत्रकार सम्मेलन गरेर विश्वासले सुनसरी–३ बाट कांग्रेसका गच्छदार र एमालेका चौधरीलाई पराजित गरेर सान्दार जित निकाल्ने घोषणा गरेका छन् ।

समावेशी समाजवादी पार्टी नेपालले २०८२ फागुन २१ गते हुन लागेको प्रतिनिधि सभाको निर्वाचनमा १६५ निर्वाचन क्षेत्रबाट चुनाव लड्ने घोषणा गरेका छन् । पार्टीले माघ १ गते बिहीबार सुनसरी जिल्लाको दुहवी नगरपालिका स्थित सरस्वती माध्यमिक विद्यालयको खेलमैदानमा उम्मेदवार घोषणा गर्ने तयारी पुरा गरेको छ ।

पार्टीले दुहबीमा माघी महोत्सव सँगै उम्मेदवारी घोषणा गर्ने कार्यक्रम रहेको अध्यक्ष विश्वासले जानकारी गराए । चितवनको सौराहामा माघी नाच हेर्नका लागि ७ सय रुपैयाँको टिकट काट्नु पर्छ । तर सुनसरीको दुहबीमा समावेशी समाजवादी पार्टी नेपालले बिहीबार आयोजना गर्न लागेको माघी महोत्सवमा जो कोहीले निःशुल्क रूपमा थारु सांस्कृतिक झल्किने माघी नाच हेर्न पाउने छ ।

जसका लागि चितवनबाट सुनसरीको दुहबीमा थारु कलाकार भित्र्याइएको छ । साथै महोत्सवमा सहभागिता जनाउने आगन्तुकका लागि निःशुल्क रूपमा थारु परिकार खुवाउने कार्यक्रम रहेको अध्यक्ष विश्वासले बताए । रवि लामाछाने र कुलमान घिसिङ अमेरिकन तथा बालेन साहलाई भारतीय दलालको रूपमा अध्यक्ष विश्वासले व्याख्या गरेका छन् ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ) सुनसरी–१ बाट जित निकाल्ने बाहेक उनका पार्टीका अन्य उम्मेदवारले कुनै पनि निर्वाचन क्षेत्रबाट जित निकाल्न नसक्ने विश्वासको भनाई छ ।