विराटनगर भन्सार कार्यालयको राजश्व असुली ९३.३३ प्रतिशत

  • ब्रह्मदेव यादव, विराटनगर २७६  पटक हेरिएको

बिहिबार, माघ ०१, २०८२ समय : १४:३५:३२ , १ दिन अगाडि

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पुस महिनामा ९३.३३ प्रतिशतले राजश्व असुले गरेको छ ।

विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले पुस महिनामा ३ अर्ब २४ करोड ३१ लाख रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा ३ अर्ब २ करोड ६९ लाख रुपैयाँ राजश्व असुली भएको बताए । जुन ९३.३३ प्रतिशतले राजश्व असुली भएको हो ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि पुस मसान्तसम्ममा २० अर्ब ३२ करोड १५ लाख ७९ हजार रुपैयाँ राजश्व असुली गर्ने लक्ष्य राखेकोमा १५ अर्ब ९८ करोड ६९ लाख ५६ हजार रुपैयाँ राजश्व असुली भएको बताए । जुन ७८.६७ प्रतिशतले राजश्व असुली भएको हो ।

विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को ६ महिनाको अवधिमा असुली गरेको ७८.६७ प्रतिशत राजश्व मध्ये ४० प्रतिशत भन्दा बढी औद्योगिक कच्चा पदार्थबाट राजश्व असुली गरेको हो ।

पछिल्लो समय तेस्रो मुलुकबाट प्लास्टिकका दाना र चिनको स्याउ मात्रै विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिरहेको छ ।बढी राजश्व प्राप्त हुने विद्युतीय सवारी साधन र हल्का सवारी साधन, महँगा कार पछिल्लो समय अन्य नाकाबाट नेपाल भित्रिरहेका छन् ।

विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिरहेका विद्युतीय सवारी साधन पछिल्लो समय पल्लो मुस्ताङ नाकाबाट नेपाल भित्रिरहेका छन् ।

विराटनगर भन्सार कार्यालयबाट नेपाल भित्रिरहेको पेट्रोल र डिजेल अन्य नाकाबाट नेपाल भित्रिरहेको छ । कांकरभिट्टा नाकाबाट पेट्रोल र अमलेखगञ्जबाट डिजेल नेपाल भित्रिरहेको छ ।

विराटनगर भन्सार कार्यालयबाट पछिल्लो समय ग्यास मात्रै नेपाल भित्रिरहेको छ । औद्योगिक कच्चा पदार्थबाट मात्रै राजश्व असुलीमा सीमित रहेको विराटनगर भन्सार कार्यालय मध्यम भन्सार कार्यालयको रूपमा चिनिन थालेको छ ।

जसका कारण राजश्व समूहका कर्मचारी रोजेर विराटनगर भन्सार कार्यालयमा दरबन्दी कायम गराउने परिपाटीको अन्त्य भएको छ ।