- ब्रह्मदेव यादव, विराटनगर ४१२ पटक हेरिएको
बिहिबार, माघ ०८, २०८२ समय : १५:५१:४७ , ६ घन्टा अगाडि
नेपाली कांग्रेसबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार फुलकुमार लालवानीले आफू विजयी प्राप्त गर्नका लागि चुनाव लडेको बताउनु भएको छ ।
४८ वर्षसम्म पार्टीमा काम गरेका लालवानीलाई नेपाली कांग्रेसले मोरङ ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । नेपाली कांग्रेसको मोरङ जिल्ला समितिदेखि केन्द्रीय समितिसम्मका सम्पूर्ण पदाधिकारीको रोजाइमा परेका लालवानी अत्याधिक मतका साथ विजय प्राप्त गर्नेमा पार्टीका नेता तथा कार्यकर्ता विश्वस्त छन् ।
माघ ६ गते मंगलबार उम्मेदवारी दर्ता गराएका लालवानी बिहीबार विराटनगरमा चिरफार डटकम सँग कुरा गर्दै आफ्नो उम्मेदवारीले मतदाता उत्साहित रहेकोले आफू जितको नजिक पुगेको बताए ।
जेसिज, लायन्स र लियो गरी तीनै क्षेत्रको केन्द्रीय अध्यक्ष पदमा पुगेर काम गरिसकेका सामाजिक अभियानता लालवानी मोरङ ५ मा कांग्रेसका लोकप्रिय उम्मेदवार रहेका छन् ।
मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ मा उद्योग, कलकारखाना खोलेर बेरोजगारी समस्या समाधान गर्ने र कृषि क्षेत्रमा अत्याधुनिक प्रविधि भित्र्याएर उत्पादन बढाउँदै जनताको जीवनस्तर माथि उठाउने लालवानीको चुनावी मुद्दाले मतदाता उत्साहित बनेका छन् ।
मोरङ ५ कांग्रेसको बलियो सांगठनीक ढाँचा रहेको निर्वाचन क्षेत्र हो । दोस्रो संविधान सभाको निर्वाचनमा नेपाली कांग्रेसका लोकप्रिय नेता अमृत अर्यालले जनता समाजवादी पार्टी नेपालका केन्द्रीय अध्यक्ष एवं पूर्व उप-प्रधानमन्त्री उपेन्द्र यादवलाई पराजित गरेर सानदार जित निकालेको निर्वाचन क्षेत्र हो ।
त्यही निर्वाचन क्षेत्रबाट कांग्रेसले लालवानीलाई उम्मेदवार बनाएको छ । विराटनगरका मारवाडी समुदायका लालवानी लोकप्रिय छवि भएका इमान्दार नेताको रूपमा चिनिन्छ । लालवानीको उम्मेदवारीले मोरङ ५ का मतदाता समक्ष नयाँ जोस–जागर र उर्जा प्राप्त भएको छ । जुन नयाँ जोस–जागर र ऊर्जालाई मतदाताहरूले विजयीमा परिणत गराउने गरी चुनावी अभियान सुरु गरिसकेका छन् ।
२०३५ सालमा नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका लालवानी २०३६ सालमा बहुदलको पक्षमा प्रचार–प्रसार गरेका थिए । २०४२ सालको सत्याग्रहमा भाग लिएका लालवानी काठमाडौँको त्रिचन्द्र कलेजमा नेपाल विद्यार्थी संघको इकाई कोषाध्यक्षको रूपमा काम गरेका थिए ।
नेपाल तरुण दल मोरङको संस्थापक सदस्यको रूपमा काम गरिसकेका लालवानी २०५२ सालदेखि नेपाली कांग्रेसमा आबद्ध भएर निरन्तर सक्रिय पूर्वक काम गरिरहेका छन् । २०५२ सालमा नेपाली कांग्रेस मोरङका सदस्य हुदै मोरङ जिल्लाको विभिन्न विभागको प्रमुख भएर काम गरिसकेका लालवानी कांग्रेसका होनहार इमान्दार छवि बनाएका नेता हुन् ।
तेस्रो पटक मोरङ ५ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि निर्वाचित भएका लालवानी कांग्रेस केन्द्रीय समितिको प्रचार–प्रसार विभागको सदस्य र आपूर्ति विभागका सदस्य भएर काम गरिसकेका छन् ।
एक पटक प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवारमा नाम सिफारिस भई सकेका लालवानी एक पटक विराटनगर महानगरपालिकाको मेयर र एक पटक उपमेयरमा समेत नाम सिफारिस भएका थिए ।
कांग्रेसका स्वतन्त्रता सेनानी स्व. भीमराज नौलखाका छोरी तर्फका नाति लालवानी विराटनगर–३ पोखरीयामा निवासी हुन् । विराटनगरमा लालवानी परिवारको १ सय ५० वर्षको इतिहास छ ।
लालवानीका बुवा स्व. पारसमल लालवानी कांग्रेसका पूर्व सभापति एवं पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला सँग मिलेर काम गरेका कार्यकर्ता हुन् । लालवानीका आमा स्व. कमलादेवी लालवानी नेपाल महिला संघ मोरङको संस्थापक सदस्यको रूपमा काम गरेका थिए ।
विराटनगरको पोखरीयामा लालवानी परिवारका १ सय २० जना भन्दा बढी पारिवारिक सदस्य रहेका छन् । र सबै पारिवारिक सदस्य कांग्रेसमा सक्रिय रहेका छन् ।
तिनै लालवानी परिवारका सदस्य फुलकुमार लालवानीलाई नेपाली कांग्रेसले मोरङ निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ ।