- ब्रह्मदेव यादव, विराटनगर १८० पटक हेरिएको
सोमबार, माघ १२, २०८२ समय : १६:२६:२१ , २ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयलाई कार्य क्षेत्र बनाएर सामान आयात निर्यातको काम गरिरहेका भन्सार एजेन्ट सुदर्शन दाहाललाई उत्कृष्ट भन्सार एजेन्टको पुरस्कार प्रदान गरिएको छ ।
७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा विराटनगर भन्सार कार्यालयले सोमबार आयोजना गरेको पुरस्कार वितरण तथा समापन समारोहमा भन्सार एजेन्ट दाहाललाई उत्कृष्ट भन्सार एजेन्टको पुरस्कार प्रदान गरिएको हो ।

नेपाल सरकारको अर्थमन्त्रालय र भन्सार विभागले भन्सार एजेन्ट दाहाललाई कार्य मूल्याङ्कनको आधारमा उत्कृष्ट भन्सार एजेन्ट घोषणा गरेका हुन् ।
अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयका राजश्व सचिव गोपाल बराल र भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीले हस्ताक्षर गरेको प्रशंसा–पत्र मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल र विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले भन्सार एजेन्ट दाहाललाई प्रशंसा–पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा ट्रान्स नेपाल विराटनगर शाखा प्रमुख लक्ष्मी सुब्बा र ट्राफिक प्रहरी रानी पोष्टका प्रमुख प्रहरी नायब निरीक्षक रुपचन्द चौधरीलाई प्रशंसा–पत्र प्रदान गरेका थिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी, मोरङ उद्योग व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनिल साह, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समिति कार्यसमिति सदस्य तथा राजश्व परामर्श समितिका सभापति देवकिनन्दन अग्रवाल, मोरङ चेम्बर अफ कमर्शका अध्यक्ष शिव रिजाल र विराट व्यापार संघका अध्यक्ष अंशु बंजराले विराटनगर भन्सार कार्यालयमा उमेश श्रेष्ठले प्रमुख भन्सार अधिकृतको रूपमा कार्यवाहक सम्हाली सकेपछि सामान आयात निर्यातमा कुनै किसिमको समस्या नरहेको बताए ।
विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्दन शर्माले भन्सार ऐन लागु भइसकेको अवस्थामा भन्सार नियमावली नआउँदा उद्योगी व्यापारी तथा भन्सार एजेन्टले बोलकबोल गरेको प्रज्ञापन–पत्रलाई भन्सार कार्यालयले मान्यता दिनुपर्ने बताए ।
विराटनगर भन्सार एजेन्ट संघले ७४औं अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा सत्ताव्यापी कार्यक्रम सञ्चालन गरेका थिए । सत्ताव्यापी कार्यक्रम अन्तर्गत ब्याडमिन्टन, भलिबल, फुटबल र क्रिकेट प्रतियोगिता आयोजना गरेका थिए । यी खेलकुद प्रतियोगिताका विजेता तथा उत्कृष्ट खेलाडीलाई शिल्ड, म्याडल तथा प्रशंसा–पत्र प्रदान गरेका थिए ।

एजेन्ट संघले सत्ताव्यापी कार्यक्रम अन्तर्गत विराटनगर भन्सार कार्यालयमा सरसफाई तथा वृक्षारोपण, रक्तदान, निःशुल्क आँखा जाँच शिविर, गौशालामा गाईलाई पौष्टिक आहार वितरण र असहाय कुकुर घरमा रहेका कुकुरलाई सरसफाई तथा खाना वितरण गरेका थिए ।
संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ६२ जनाले रक्तादन गरेका थिए । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठ र विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकिनन्द शर्माले समेत रक्तदान गरेका थिए । संघले मारवाडी युवा मञ्च विराटनगरसँग सहकार्य गरेर आयोजना गरेको निःशुल्क आँखा जाँच शिविरमा १ सय ३ जनाले आँखा परीक्षण गराएका थिए ।