नेपालमा रोजगार उपलब्ध गराउने ऐन आउन जरुरी छ– सुराना

  • ब्रह्मदेव यादव, विराटनगर २४४  पटक हेरिएको

बुधबार, माघ १४, २०८२ समय : १४:१३:३० , २ दिन अगाडि

प्रतिनिधि सभा सदस्यकालाई समानुपातिक उम्मेदवार उद्योगी राकेश सुरानाले नेपालमा रोजगार उपलब्ध गराउने ऐनको आवश्यकता रहेको र त्यसका लागि राजनीतिक दलबाट घोषणा पत्र नभई प्रतिबद्धता पत्र आउन जरुरी रहेको बताउनु भएको छ ।

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना सुराना ग्रुपका प्रबन्ध निर्देशक ५३ वर्षीय राकेश सुरानालाई बाबुराम भट्टराई–जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीले प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाएको छ । वि.सं. २००७ साल विराटनगरमा मोरङ उद्योग व्यापार संघको स्थापना हुँदा राकेश सुरानाका हजुरबुवा स्व. लालचन्द सुराना संघको कार्यसमिति सदस्य भएर काम गरेका थिए ।

वि.सं. २००९ सालमा राकेश सुरानाका हजुरबुवा स्व. लालचन्द सुरानाले सुनसरीको धरानमा श्रीराम बिडी फ्याक्ट्री स्थापना गरेका थिए । र सयौँलाई रोजगार उपलब्ध गराएका थिए । विराटनगरमा बसोबास गरिरहेका मारवाडी समुदाय मध्येबाट पुराना चार मध्ये सुराना परिवार एक हो । विराटनगरमा इश्वरचन्द्र धाडेवा, लाधुराम सिंघानिया, लालचन्द सुराना र लुनियाँ ऐतिहासिक पुराना परिवार हुन् ।

तीनै मारवाडी समुदायका पुराना परिवार मध्ये सुराना परिवारका सदस्य राकेश सुरानालाई प्रगतिशील लोकतान्त्रीक पार्टीले मधेसी कोटाबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाएका छन् । राकेश सुराना ऊर्जा विज्ञको रूपमा चिनिन्छ । उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले उद्योग संगठनमा निरन्तर २४ वर्षसम्म काम गरेका उद्योगी हुन् ।

नेपालको औद्योगिक क्षेत्रले चरम लोडसेडिङको मार खेपी रहेको बेलामा सुरानाले औद्योगिक क्षेत्रलाई चलायमान बनाउन ऊर्जा क्षेत्रमा खेलेको भूमिका सराहनीय छ । त्यसै कारण प्रगतिशील लोकतान्त्रिक पार्टीले देशलाई विद्युतीय क्षेत्रबाट अगाडि बढाउन र देशमा रोजगार उपलब्ध गराउन राकेश सुरानालाई ऊर्जा विज्ञको रूपमा महत्त्वपूर्ण जिम्मेवारी दिएर काम गराउने उद्देश्यका साथ प्रतिनिधि सभा सदस्यको समानुपातिक उम्मेदवार बनाएको हो ।

प्लास्टिक तथा फटिलाइजर उद्योग सञ्चालन गरिरहेका प्रतिनिधि सभा सदस्यका समानुपातिक उम्मेदवार राकेश सुरानाले बुधबार चिरफार डटकम सँग कुरा गर्दै भने– सुरुमा कुलमान घिसिङको उज्यालो नेपाल पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाउने प्रस्ताव आएको हो ।

पछि बाबुराम भट्टराई–जनार्दन शर्माको प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतिनिधि सभा सदस्यका लागि समानुपातिक उम्मेदवार बनाउने आएको प्रस्ताव आएको हो । र त्यसलाई सहज रूपमा स्वीकार गरेको सुरानाले बताए । मलाई प्रतिनिधि सभा सदस्यको लागि समानुपातिक उम्मेदवार बनाउँदा पार्टीले एक रुपैयाँ पनि सहयोग मागेको छैन । र मैले पार्टीलाई कुनै किसिमको आर्थिक सहयोग गरेको पनि छैन ।

म देश बनाउनका लागि राजनीतिकमा आएको हुँ । राजनीतिक दलले घोषणा पत्र जारी गर्छ । नेपालमा घोषणा पत्र नभई प्रतिबद्धता पत्र आउन जरुरी छ । कुनै पनि राजनीतिक दलले औद्योगिक समस्या समाधान गर्न र रोजगार उपलब्ध गराउने गरी छलफल तथा बहस चलाएको छैन ।

नेपालमा वैदेशिक रोजगार प्रमुख समस्या हो । युवा युवतीलाई नेपालमै रोजगारी उपलब्ध गराउने ऐनको आवश्यकता छ । प्रगतिशील लोकतान्त्रिक पार्टी सरकारमा आयो भने नेपालमै रोजगारी उपलब्ध गराउने ऐन ल्याउँछु । र रोजगारी समस्या समाधान तर्फ अगाडी बढ्छु । आर्थिक क्षेत्रको समस्यालाई समाधान गराउने उद्देश्यका साथ काम गर्ने इच्छा छ ।

अब विदेशी ऐनलाई रोक्नु पर्छ र नेपालमा औद्योगिक क्रान्तिलाई अगाडी बढाउने ऐन ल्याउन जरुरी छ । बैंक तथा वित्तीय संस्थामा सिन्डिकेट हाबी छ । गलत काम गर्नेलाई कारबाही हुँदैन । विदेशीले ल्याएको कानुन थोपारेर देश संवृद्ध हुन नसक्ने सुरानाको भनाई छ ।