- ब्रह्ममदेव यादव, विराटनगर १६१ पटक हेरिएको
मंगलबार, फाल्गुण ०५, २०८२ समय : २०:०७:०२ , ११ घन्टा अगाडि
राजवंशी समाज उत्थान समितिले बुधबार विराटनगरमा १९औं बृहत भेलाको आयोजना गर्न लागेको छ । समाजको केन्द्रीय कार्यालय विराटनगरमा रहेको छ । र समाजले विराटनगरमै १९औं बृहत भेलाको आयोजना गर्न लागेको हो ।
समाजका केन्द्रीय अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले मंगलबार पत्रकार सम्मेलन गरेर बुधबार विराटनगर–१ पोखरीयास्थित विष्णुमाया पुस्तकालयमा आयोजना गर्न लागेको १९औं बृहत भेलामा राजनीतिक दलका नेताहरूलाई नबोलाइएको बताए ।
अध्यक्ष राजवंशीले राजवंशी समुदायलाई सूचिकृत गर्न सरकारसँग माँग गरेका छन् । जबसम्म राजवंशी समुदायलाई सूचिकृत गरिदैन तबसम्म राजवंशी समुदाय सरकारका विरुद्ध सडकबाट खबरदारी गरिरहने अध्यक्ष राजवंशीले बताए ।
विराट राजवंशीलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा बेग्लै सूचिकृत गर्नुपर्ने, राज्यको हरेक अङ्गमा विराट राजवंशीको स्थान सुनिश्चित गर्नुपर्ने, कोशी प्रदेश सभा सदस्यमा विराट राजवंशी समुदायलाई समानुपातिक रूपमा प्रतिनिधित्वको सुनिश्चित गर्नुपर्ने, विराटनगरको प्रथम जातीको रूपमा विराट राजवंशीलाई मान्यता दिनुपर्ने, विराट राजवंशी जातीको उत्थानका लागि प्रत्येक तह र अङ्गमा छुटै आरक्षणको व्यवस्था गर्नुपर्ने र विराट राजवंशी जातीको प्रमुख बसोबास रहेको विराटनगर महानगरपालिका सहित कटहरी, जहदा, बुढीगंगा र ग्रामथान गाउँपालिकालाई विराट राजवंशी स्वायत्त परिषद्को व्यवस्था गर्नुपर्ने समाजले माँग गरेका छन् ।