आन्तरिक राजश्व कार्यालय विराटनगरले असुली गर्‍यो पुस महिनामा १ सय ५ र माघ महिनामा १ सय १ प्रतिशत राजश्व

  • ब्रह्मदेव यादव, विराटनगर ४७२  पटक हेरिएको

शुक्रबार, फाल्गुण ०८, २०८२ समय : १४:२८:४९ , २ महिना अगाडि

आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ को सात महिनामा ८६.९० प्रतिशतले राजश्व असुली गरेका छन् । कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को ७ महिना (साउनदेखि माघ) मा ५ अर्ब ६९ करोड २२ लाख रुपैयाँ राजश्व असुली गर्नुपर्ने लक्ष्य राखेकोमा ४ अर्ब ९४ करोड ६८ लाख रुपैयाँ राजश्व असुली गरेका छन् ।

जुन लक्ष्यको तुलनामा ८६.९० प्रतिशतले राजश्व असुली भएको हो । कार्यालयका प्रमुख कर अधिकृत केशवकुमार उप्रेतीले लक्ष्य अनुसार राजश्व असुली नभएपनि विषम परिस्थितिमा असुली प्रतिशत सन्तोषजनक रहेको बताए ।

आर्थिक वर्ष २०८१/०८२ को तुलनामा आर्थिक वर्ष २०८२/०८३ को ७ महिनाको अवधिमा ८.३५ प्रतिशतले बढी राजश्व असुली भएको प्रमुख कर अधिकृत उप्रेतीले बताए । कार्यालयले आर्थिक वर्ष २०८१/०८२ को ७ महिनाको अवधिमा ८४.४० प्रतिशतले राजश्व असुली गरेका थिए ।

कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को ७ महिनाको अवधिमा ८.३५ प्रतिशतले बढी राजश्व असुली भएको हो । २०८२ भाद्र २३ र २४ गतेको जेन्जी पुस्ताको आन्दोलनको क्रममा आन्तरिक राजश्व कार्यालय विराटनगरको कार्यालय भवनमा तोडफोड र आगजनी भएको थियो ।

प्रमुख कर अधिकृत उप्रेती सहित कर अधिकृत र कर्मचारीले सुरुमा कार्यालय परिषद्को खुल्ला ठाउँ र पछि कार्यालय भवन जलेको संरचनाबाट सेवा ग्राहीलाई सेवा दिएर लक्ष्यको तुलनामा सन्तोषजनक रूपमा राजश्व असुली गरेको हो ।

प्रमुख कर अधिकृत उप्रेतीले कर दाता, चार्टर एकाउन्टेन्ट र लेखापरिक्षक सँग नियमित छलफल तथा अन्तरक्रिया कार्यक्रम गरेर राष्ट्रिय ढुकुटीमा राजश्व बढाउनु पर्ने गरेको आग्रह बमोजिम राजश्व असुली भएकोले राजस्व असुली प्रतिशत सन्तोषजनक अवस्थामा पुगेको हो ।

जेन्जी आन्दोलनपछि आन्तरिक राजश्व कार्यालय विराटनगरका कर्मचारी नियमित बजार अनुगमनमा जान सक्ने अवस्था छैन । तथापि प्रमुख कर अधिकृत उप्रेतीको काम गराईशैली प्रभावकारी रहेकोले राजश्व असुलीमा वृद्धि भएको अवस्था छ ।

पछिल्लो समय मूल्य अभिवृद्धि कर र अन्तःशुल्क कर शीर्षकको कर असुलीमा वृद्धिको अवस्था छ । तर आयकरको असुली प्रतिशत सन्तोषजनक छैन ।

कार्यालयले आयकर तर्फ ८१ प्रतिशतले मात्रै राजश्व असुली गरेका छन् । आन्तरिक राजश्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ को पुस महिनामा लक्ष्यको तुलनामा १ सय ५ र माघ महिनामा १ सय १ प्रतिशतले राजश्व असुली गरेका छन् ।

यो देशको समग्र राजश्व असुलीको अनुपातमा उच्च प्रतिशतले राजश्व असुली भएको हो । कर दातामा जागरूकता, बिल लिने दिने परिपाटीको सुरुवात, व्यवसायी उपभोक्ता र कर अधिकृत सचेत रहेको अवस्थामा राजश्व असुली प्रतिशत बढ्न सक्ने प्रमुख कर अधिकृत उप्रेृतीले बताए ।

प्रमुख कर अधिकृत उप्रेतीले राष्ट्रिय ढुकुटीमा राजश्व बढाउने गरी आफू सहित कार्यालयका अधिकृत र कर्मचारीले इमानदारी पूर्वक काम गरिरहेको बताए । कार्यालयले आयकर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्क कर शीर्षकमा राजश्व असुली गरिरहेका छन् ।