मोरङ ५ मा नेपाली कांग्रेसको आक्रामक प्रचार–प्रसार अभियान

  • ब्रह्मदेव यादव, विराटनगर २८३  पटक हेरिएको

बिहिबार, फाल्गुण १४, २०८२ समय : १५:३३:११ , २ दिन अगाडि

नेपाली कांग्रेसले मोरङ ५ मा प्रचार–प्रसार अभियानलाई आक्रामक बनाएका छन् । कांग्रेसले मोरङ ५ मा फुलकुमार लालवानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

कांग्रेस मोरङ ५ ले बिहीबार विराटनगर महानगरपालिकाको २ वटा वडामा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् । बिहीबार बिहान विराटनगर–१७ र दिउँसो विराटनगर–१४ स्थित जतुवामा घरदैलो कार्यक्रम सम्पन्न गरेको पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यका समानुपातिक उम्मेदवार कमला श्रेष्ठले जानकारी गराए ।

मोरङ ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार लालवानी र पार्टीका केन्द्रिय सदस्य एवं कोशी प्रदेश सांसद अमृत अर्याल लगायतका नेता तथा कार्यकर्ताहरू घरदैलो कार्यक्रममा सहभागी थिए ।

मोरङ ५ मा विराटनगर महानगरपालिका, जहदा गाउँपालिका, धनपालथान गाउँपालिका र रंगेली नगरपालिकाका जनता मतदाता रहेका छन् ।

निर्वाचन क्षेत्रमा रहेका २४ वटा वडाका मतदाता समक्ष पुग्ने गरी नेपाली कांग्रेस मोरङ ५ ले आक्रामक रूपमा घरदैलो कार्यक्रम सञ्चालन गरिरहेका छन् । मोरङ ५ मा कांग्रेसको बलियो संगठन छ ।

कांग्रेस केन्द्रिय सदस्य अमृत अर्याल मोरङ ५ बाटै दोस्रो संविधान सभामा विजयी प्राप्त गरेका थिए । यतिखेर मोरङ ५ को “ख” प्रदेश सभाबाट अर्याल कोशी प्रदेश सांसद रहेका छन् । १ लाख १० हजार मतदाता रहेको मोरङ ५ मधेसी बाहुल्य निर्वाचन क्षेत्र हो ।

९० प्रतिशत भन्दा बढी मधेसी मतदाता रहेको मोरङ ५ निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसले मारवाडी समुदायका लालवानीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ ।

लालवानीको उम्मेदवारीले मोरङ ५ का जनता उत्साहित छ । र लालवानी विजयी प्राप्त गर्नेमा कांग्रेसका नेता तथा कार्यकर्ताहरू ढुक्क छ ।