संविधान र लोकतन्त्रको रक्षाका लागि सबै नेपालीलाई मतदानमा सहभागिता जनाउन लालवानीको आग्रह

  • ब्रह्मदेव यादव, विराटनगर २२६  पटक हेरिएको

शुक्रबार, फाल्गुण १५, २०८२ समय : १७:२८:५१ , २३ घन्टा अगाडि

नेपाली कांग्रेसबाट मोरङ जिल्लाको निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार फुलकुमार लालवानीले संविधान र लोकतन्त्रको रक्षाका लागि सबै नेपालीलाई मतदानमा सहभागिता जनाउन आग्रह गरेका छन् ।

निर्वाचन प्रचार–प्रसारमा व्यस्त रहेका लालवानीले शुक्रबार विराटनगरमा चिरफार डटकमसँग कुरा गर्दै यस्तो मतदान बारे आग्रह गरेको हो ।

लालवानीले भनेः फागुन २१ गते बिहीबार हुन लागेको प्रतिनिधिसभा सदस्यको निर्वाचन चानचुने कुरा होइन । एउटा भुँईमान्छे प्रतिनिधि सभाको सदस्य हुन भन्दा पनि देशको संविधान र लोकतन्त्रको रक्षा एवं राष्ट्रिय अखण्डतालाई अविचलित राख्न निर्वाचन सफलता पूर्वक सम्पन्न हुनुपर्ने कुरामा जोड दिएका छन् ।

लोकतन्त्रमा निर्वाचन एउटा उत्सव हो । यहाँ कसैको पराजय हुँदैन । त्यस कारण बढी भन्दा बढी संख्यामा निर्वाचनमा सहभागिता जनाउन देशका सबै मतदातालाई लालवानीले आग्रह गरेका छन् । देश भरीका उम्मेदवारलाई उत्साहित बनाउन विगतको निर्वाचन भन्दा यस पटक मतदान प्रतिशत बढाउने गरी मतदानमा सहभागिता जनाउन मतदातालाई लालवानीले आग्रह गरेको हो ।

फागुन महिना चुनावसँगै पर्वको पनि महिना हो । हिन्दु धर्मावलम्बीहरूको होली पर्व छ । मुस्लिम धर्मावलम्बीहरूको रमजान पर्व चलिरहेको छ ।

सम्पूर्ण नेपालीहरूले शान्ति व्यवस्थापन र निर्वाचनको व्यवस्थापनलाई कुनै बाधा अड्चन पुग्न नदिने गरी सद्भावपूर्ण तथा धार्यतापूर्वक आ–आफ्‌नो धर्म र संस्कृति अनुसार पर्व मनाउन लालवानीले आग्रह गरेका हुन् । सम्पूर्ण नेपालीलाई होली र रमजान पर्वको अवसरमा लालवानीले हार्दिक बधाई र शुभकामना सन्देश दिएका छन् ।