कांग्रेसले ८० वर्षको इतिहासमा सबै भन्दा कम सिट जितेको हो– अर्याल

  • ब्रह्मदेव यादव, विराटनगर ५९७  पटक हेरिएको

आइतबार, फाल्गुण २४, २०८२ समय : १६:१९:१९ , २ महिना अगाडि

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सोचेभन्दा फरक परिणाम आएको धारणा सार्वजनिक गरेका छन् ।

नेपाली कांग्रेसबाट मोरङ क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य पदका पराजित उम्मेदवार फुलकुमार लालवानीले आइतबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा कांग्रेस केन्द्रिय सदस्य एवं कोशी प्रदेशका सांसद अमृत अर्यालले यस्तो धारणा सार्वजनिक गरेको हो ।

८० वर्षको इतिहासमा कांग्रेसले पहिलो पटक प्रतिनिधि सभा सदस्यको निर्वाचनमा सबै भन्दा कम सिट जितेको अर्यालले बताए । देशमा जेन्जी आन्दोलनको रापमा भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले एकलै सरकार बनाउने गरी पहिलो स्थान प्राप्त गर्न सफल भएको छ । नत्र कांग्रेस त्यो भन्दा तल जाने थियाे।

कांग्रेसले दोस्रो स्थान लिन सफल भएको छ । पार्टी सभापति गगन थापाकै कारण कांग्रेस दोस्रो स्थान प्राप्त गर्न सफल भएको अर्यालले बताए ।

मोरङ ५ बाट कांग्रेसका पराजित उम्मेदवार लालवानीले एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको बोलीका कारण कांग्रेसले ठुलो नोक्सानी बेहोरेको बताए ।

भाद्र २३ र २४ गते जेन्जी आन्दोलन चलिरहँदा देशमा एमाले र कांग्रेसको संयुक्त सरकार थियो । र एमाले अध्यक्ष ओली प्रधानमन्त्री थिए ।

ओलीले पटक–पटक अरूलाई होच्याउने गरी दिएको अभिव्यक्तिका कारण सबै पार्टीका मतदाता रुष्ट हुँदा कांग्रेसले सोचेभन्दा कम सिटमा जित निकालेको लालवानीले बताए ।

कांग्रेसले क्रियाशील सदस्यताको पुनरावलोकन गर्नुपर्ने अवस्था आएको लालवानीले बताए । कांग्रेस पुरै तयारीका साथ प्रतिनिधिसभा सदस्यको चुनाव लडेर दोस्रो स्थान ओगटेको लालवानीले बताए ।

निर्वाचनमा घात अन्तर्घात गर्नेलाई पार्टीले केही न केही कारबाही गर्नै पर्ने लालवानीले बताए । मोरङको ६ वटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीले जित निकालेको छ ।

कांग्रेस शून्यको अवस्थामा छ । तर पनि कांग्रेस मोरङ ५ का पराजित उम्मेदवार लालवानीले मतदातालाई धन्यवाद दिएका छन् । मोरङ ५ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका आशा झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा कांग्रेसका लालवानी दोस्रो स्थान प्राप्त गर्न सफल भएका छन् ।

यहाँ कमेन्ट गर्नुहोस्