विराटनगर लेडिज सर्कल–५ द्वारा २ सय छात्रालाई ४ सय ५० थान सेनिटरी प्याड वितरण

  • ब्रह्मदेव यादव, विराटनगर ६५१  पटक हेरिएको

सोमबार, फाल्गुण २५, २०८२ समय : १३:५२:१६ , ३ महिना अगाडि

विराटनगर लेडिज सर्कल–५ ले सोमबार एक सरकारी विद्यालयमा अध्यनरत २ सय भन्दा बढी छात्राहरूलाई ४ सय ५० थान सेनिटरी प्याड वितरण गरेको छ ।

महिलाहरूलाई सशक्तीकरण मार्फत अगाडी बढाउने उद्देश्यका साथ विद्यालयमा अध्ययनरत छात्राहरूलाई सेनिटरी प्याड वितरण गरिएको विराटनगर लेडिज सर्कल–५ का अध्यक्ष कुसुम लुनियाँले जानकारी गराइन ।

अध्यक्ष कुसुम लुनियाँ विराटनगरको प्रतिष्ठित औद्योगिक घराना लुनियाँ ग्रुपका अध्यक्ष पारस लुनियाँका श्रीमती हुन् । कुसुम लुनियाँ विराटनगर लेडिज सर्कल–५ को अध्यक्ष पदको जिम्मेवारी सम्हालिसकेपछि महिला सशक्तीकरणको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि मूलक काम गरेका छन् ।

जुन कामको चौतफी प्रशंसा भइरहेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर विराटनगर लेडिज सर्कल–५ ले सोमबार विराटनगर महानगरपालिकाको वडा नं. ७ स्थित आदर्श बालिका माध्यमिक विद्यालयमा अध्ययनरत २ सय भन्दा बढी छात्राहरूलाई सेनिटरी प्याड वितरण गरिएको हो ।

आदर्श बालिका माध्यमिक विद्यालयमा बाल कक्षादेखि कक्षा १० सम्म ३ सय भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये कक्षा ४ देखि कक्षा १० सम्म अध्ययनरत २ सय भन्दा बढी छात्राहरूलाई सेनिटरी प्याड वितरण गरिएको छ ।

विराटनगर लेडिज सर्कल–५ का बोर्ड मेम्बर तथा दन्त रोग विशेषज्ञ डा. अंकिता राठीले विद्यालयमा अध्ययनरत छात्राहरूलाई महिनावारी भएको समयमा अपनाउनु पर्ने सावधानी र खानपिनको बारेमा जानकारी गराएका थिए ।

विराटनगरको प्रतिष्ठित औद्योगिक घराना सारडा ग्रुपका प्रबन्ध निर्देशक पुनित सारडाले विराटनगर लेडिज सर्कल–५ लाई आफ्‌नै उद्योगमा उत्पादन भइरहेको सेनिटरी प्याड सहयोग गरेका थिए ।

विराटनगर लेडिज सर्कल–५ का पूर्व अध्यक्ष निलम कुन्डलिया आगामी अध्यक्ष, विनीता धाडेवा कोषाध्यक्ष, मोहिनी लुनियाँ लगायत सर्कलका सदस्यहरू सेनिटरी प्याड वितरण कार्यक्रममा सहभागी भएका थिए ।