- ब्रह्मदेव यादव, विराटनगर ३२८ पटक हेरिएको
बिहिबार, फाल्गुण २८, २०८२ समय : १३:३७:१० , ३ महिना अगाडि
नेपाल प्रहरीले प्रतिनिधिसभा निर्वाचनका लागि थप सुरक्षा बल अन्तर्गत भर्ना गरेका निर्वाचन प्रहरीलाई फागुन २८ गते बिहीबार बिदाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङले बिहीबार बिदाई समारोहको आयोजना गरेर निर्वाचन प्रहरीलाई बिदाई गरेका हुन् । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार प्रतिनिधिसभा निर्वाचन २०८२ का लागि माघ १८ गते नियुक्ति पत्र दिएका ४ हजार ३ सय ८३ निर्वाचन प्रहरीलाई बिदाई गरिएको बताए ।
जिल्ला प्रहरी कार्यालय मोरङले नियुक्त गरेका ३ हजार १ सय २६ पुरुष र १ हजार २ सय ५७ महिला गरी ४ हजार ३ सय ८३ मध्ये १९ जना निर्वाचन प्रहरी बिचमै जागिर छोडेका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी लिलाराज लामिछानेले निर्वाचन प्रहरीका लागि भर्ना भएका प्रहरीलाई १४ ठाउँमा तालिम दिएको बताए । ४० दिनको सेवा अवधि पुरा गरेका निर्वाचन प्रहरीलाई मोरङ प्रहरीले बिहीबार बिदाई गरेको हो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल, मोरङका प्रहरी प्रमुख एसपी कवित कटवाल, राष्ट्रिय अनुसन्धान मोरङका प्रमुख एसपी राजन शर्मा सापकोटा निर्वाचन प्रहरी बिदाई समारोहमा सहभागी थिए ।
मोरङका प्रहरी प्रमुख एसपी कटवालले निर्वाचन प्रहरीले अनुशासित प्रहरीको भूमिका निर्वाह गरेर राज्यलाई गुण लगाएको बताए । उद्योगी तथा व्यापारी प्रतिष्ठानमा निर्वाचन प्रहरीको माँग भइरहेकोले मोरङ प्रहरीले जागिरका लागि निर्वाचनमा खटिएका निर्वाचन प्रहरी र उद्योगी तथा व्यापारी बिच सहजीकरणको भूमिका निर्वाह गर्ने बताए ।
राज्यले निर्वाचन प्रहरीलाई ४० दिन सेवा अवधिका लागि पोसाक सहित ५० हजारभन्दा बढी तलब दिने निर्णय गरेका थिए । लोकसेवा आयोग सरह सम्पूर्ण प्रक्रिया पुरा गरेर भर्ना भएका निर्वाचन प्रहरीलाई मोरङ प्रहरीले सुरुमै पोसाक बापत ६ हजार भन्दा बढी रकम दिएका थिए ।