- ब्रह्मदेव यादव, विराटनगर ३१३ पटक हेरिएको
शुक्रबार, फाल्गुण २९, २०८२ समय : १५:१७:४५ , १ दिन अगाडि
उद्योगी रमेश राठी र उनको श्रीमती पुनम राठीले शुक्रबार विराटनगरस्थित कोशी अस्पतालमा मिष्ठान्न भोजन वितरण गरेका छन् । उद्योगी रमेश राठी स्टील र जुट उद्योग सञ्चालन गरिरहेका छन् ।
उनका श्रीमती पुनम राठी सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् । विराटनगरका प्रतिष्ठित उद्योगी रमेश राठी र उनको श्रीमती पुनम राठीको शुक्रबार ३२औं एनिभर्सरीको दिन हो । ३२औं एनिभर्सरी विशेष दिनको अवसरमा राठी दम्पतीले कोशी अस्पतालमा उपचार गराई रहेका बिरामीका २ सय ६० जना कुरुवालाई मिष्ठान्न भोजन वितरण गरेको हो ।
पृथ्वीकुमार अग्रवाल संयोजक रहेको नर सेवा–नारायण सेवा परिवारले “भोकालाई भोजन र प्यासालाई पानी” मूल मन्त्रका साथ अढाई वर्षदेखि सरकारी स्वामित्वको विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराउन आउने बिरामीका कुरुवालाई लक्षित गरेर माँ अन्नपूर्णा रसोइ अन्तर्गत दिवा भोजन वितरण कार्यक्रम सञ्चालनमा रहेको छ ।
प्रत्येक दिन २ सय ५० देखि २ सय ६० जना बिरामीका कुरुवालाई दिवा भोजन वितरण गरिरहेको नर सेवा–नारायण सेवा नामक संस्थालाई दाताहरूले निरन्तर सहयोग गरिरहेका छन् । जसको कारण नर सेवा–नारायण सेवालाई कुनै आर्थिक समस्या परेको छैन ।
संस्थाका संयोजक पृथ्वीकुमार अग्रवालका अनुसार १ दिनको भोजन वितरणका लागि ११ हजार रुपैयाँ खर्च लाग्छ । जुन रकम दाताहरूबाट निरन्तर प्राप्त भइरहेको छ । विराटनगर सहित देश विदेशमा रहेका हरेक क्षेत्र तह र तप्काका व्यक्तिहरूले आफ्ना परिवारका सदस्यको विशेष दिनको अवसरमा फाल्तु खर्च कटौती गरेर भोजन वितरण कार्यक्रमलाई सहयोग गरिरहेका छन् ।
विराटनगरका प्रतिष्ठित औद्योगिक घरानाले त १ वर्षको अवधिमा बढीमा ५ पटकसम्म भोजन वितरण कार्यक्रमका लागि संस्थालाई सहयोग गरिरहेका छन् ।
बजरंग स्टील प्रा.लि.का अध्यक्ष उद्योगी रमेश राठी र उनको श्रीमती पुनम राठी ३२औं एनिभर्सरीको अवसरमा माँ अन्नपूर्ण रसोइमा उपस्थित भएर बिरामीका कुरुवालाई मिष्ठान भोजन वितरण गरेका थिए । अन्य दिनको तुलनामा शुक्रबार राठी दम्पतीले खानाको परिकारसँगै जेरी समेत वितरण गरेका थिए ।
नर सेवा–नारायण सेवा परिवारले २ जना कारिगर राखेर प्रत्येक दिन खाना तयार पार्छन । र प्याक गरिएको खाना माँ अन्नपूर्णा रसोइको स्टलबाट वितरण गरिरहेका छन् । खाना वितरण स्टलमा संस्थाका पदाधिकारीहरू सहभागी हुने गरेका छन् ।