विभिन्न संघसंस्थाद्वारा स्व. इन्दुदेवी नौलखाप्रति समवेदना प्रकट

  • चिरफार डटकम, विराटनगर ४७४  पटक हेरिएको

सोमबार, चैत्र ०२, २०८२ समय : १७:४१:५९ , १४ घन्टा अगाडि

विभिन्न सङ्घसंस्थाहरूले स्व. इन्दुदेवी नौलखाप्रति समवेदना प्रकट गरेका छन् । प्रजातन्त्र सेनानी ९३ वर्षीय “आइरन लेडी” स्व. नौलखाको फागुन २६ गते मंगलबार काठमाडौँमा निधन भएको थियो नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले स्व. नौलखाको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाएर समवेदना प्रकट गरेका थिए ।

केही दिन अगाडी स्व. नौलखाको स्मृतिमा काठमाडौँमा आयोजना गरिएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौला र कांग्रेस नेता फुलकुमार लालवानी सहभागी भएका थिए ।

जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरले सोमबार विराटनगर स्थित जैन भवनमा आयोजना गरेको स्व. नौलखाको स्मृति सभामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङ, नेपाली कांग्रेस विराटनगर महानगर समितिको वडा नं. ७ र १५, मारवाडी महिला मञ्च विराटनगर, मारवाडी युवा मञ्च विराटनगर, नेपाल प्रजातन्त्र सेनानी संघ मोरङ लगायतका संघ संस्थाका पदाधिकारीहरूले समवेदना पत्र हस्तान्तरण गरेका थिए ।

विराटनगरमा आयोजित श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी, कांग्रेस महिला नेतृ प्रमिला थापा, जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जयराम यादव, लायन्सकर्मी रेवतबहादुर थापा, स्व. नौलखाका नजिकका नातेदार फुलकुमार लालवानी, विकास लालवानी, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगडले नेपालमा समय समयमा भएको प्रजातन्त्र र लोकतन्त्रको आन्दोलन प्रति स्व. नौलखा प्रतिबद्ध रहेको धारणा व्यक्त गरेका थिए ।

जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका कार्यकारिणी समितिका सदस्य अमित सुरानाले सञ्चालन गरेको स्मृति सभामा स्व. नौलखाका छोरा गणपथ नौलखा सहभागी भएका थिए ।

२००७ सालको आन्दोलनमा कांग्रेस हतियार उठाएर आन्दोलनमा होमिदा स्वतन्त्र सेनानी स्व. भीमराज नौलखा र उनको श्रीमती प्रजातन्त्र सेनानी आइरन लेडी स्व. इन्दुदेवी नौलखाको महत्त्वपूर्ण देन रहेको श्रद्धाञ्जली सभामा सहभागी वक्ताहरूले धारणा व्यक्त गरेका थिए ।

कांग्रेस २००७ सालको आन्दोलनमा होमिदा आर्थिक सङ्कटबाट गुज्रिरहेको बेला प्रजातन्त्र सेनानी स्व. इन्दुदेवी नौलखाले विवाहमा माइती पक्षबाट उपहार स्वरूप पाएको १०० तोलाको सुनको गहना कांग्रेसलाई सहयोग गरेका थिए ।