चैत १२ देखि १६ गतेसम्म विराटनगरमा घर निर्माण सम्बन्धी प्रदर्शनी

  • ब्रह्मदेव यादव, विराटनगर ४१९  पटक हेरिएको

मंगलबार, चैत्र ०३, २०८२ समय : १४:४८:५५ , १९ घन्टा अगाडि

यही चैत १२ देखि १६ गतेसम्म विराटनगरमा ५ दिने घर निर्माण सम्बन्धी प्रदर्शनी हुन लागेको छ । उद्योग संगठन मोरङले घर निर्माण सम्बन्धी प्रदर्शनीको आयोजना गर्न लागेको हो ।

विराटनगरवासीले कुनै किसिमको शुल्क नतिरीकन प्रदर्शनीको अवलोकन गर्न पाउने छ । र घर निर्माण सम्बन्धी विज्ञ टोलीबाट जानकारी प्राप्त गर्न सक्ने छ । काठमाडौँ बाहिर कोशी प्रदेशको राजधानी विराटनगरमा पहिलो पटक घर निर्माण सम्बन्धी प्रदर्शनी हुन गइरहेको छ ।

स्थानिय उद्योगको उत्पादनलाई प्रवर्द्धन गर्न र सिथिल बनेको बजारलाई चलायमान बनाउने उद्देश्यका साथ घर निर्माण सम्बन्धी प्रदर्शनीको आयोजना गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।

विराटनगर स्थित जैन श्वेताम्बर तेरापंथी सभा भवनको प्राङ्गणमा ५ दिने घर निर्माण सम्बन्धी प्रदर्शनी सञ्चालन हुने छ ।प्रदर्शनीको अवधिभर बिटुबी तथा बिटुसी नेटवर्किङ बैठक सञ्चालन हुने छ ।

घर निर्माणका लागि आवश्यक सामग्री उत्पादन गरिरहेको ७५ भन्दा बढी औद्योगिक स्टल मार्फत सर्वसाधारणलाई घर निर्माण सम्बन्धी जानकारी गराइने छ ।

कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण गर्ने सोचाइमा रहेका जो कोही सर्वसाधारणले घर निर्माणका लागि चाहिने आवश्यक कागजातदेखि निर्माण सामग्रीको बारेमा एकै थलोबाट जानकारी पाउने छ । जसका लागि उद्योग संगठन मोरङले सबै क्षेत्रका विज्ञहरूलाई सहभागी गराएर १० वटा विषयमा थिमेटिक सेसन सञ्चालन गर्ने छन् ।

घर निर्माण तथा भूकम्पीय सुरक्षा मापदण्ड, विद्युत् सुरक्षा र ऊर्जा दक्षता, अग्नि सुरक्षा प्रणाली तथा घर सुरक्षा अभ्यास, निर्माण सामग्रीको गुणस्तर कसरी जाँच्ने, आधुनिक घरका लागि बास्तुशास्त्र आधारित सिद्धान्त र प्रयोग, इन्टेरियल डिजाइन अवधारणामा स्पेस प्लानिङ, उपयोगिता र सौन्दर्य, घर अटोमेशन तथा आधुनिक जीवन शैली सुरक्षा सुविधा र नियन्त्रण, सोलार घर दिगो आवासका लागि, छत चुहिने समस्या कारण तथा समाधान, दिमक नियन्त्रण रोकथाम, नियन्त्रण र दीर्घकालीन सुरक्षा तथा सुरक्षाका लागि रेट्रोफिटिङ, पुराना भवन सुदृढीकरण विषयमा थिमेटिक सेसन सञ्चालन हुनेछ ।

संगठनका अध्यक्ष राठीले घर निर्माण गर्नु अघि विराटनगर महानगरपालिकाबाट घर नक्सा पासका लागि चाहिने आवश्यक कागजातदेखि घर निर्माणको नक्सा र डिजाइन बारे महानगरपालिकाका प्राविधिक विज्ञ टोलीले जानकारी गराउने छ ।

यस बाहेक उद्योगी प्रतिष्ठानले घर निर्माणका लागि चाहिने इट्टा, गिटी, बालुवा, सिमेन्ट, रड, मार्बल, टायल्स र रङको विषयमा स्टल मार्फत जानकारी गराउने कार्यक्रम रहेको बताए । बिहान १० बजेदेखि साँझ ७ बजेसम्म घर निर्माण सम्बन्धी प्रदर्शनी सञ्चालनमा रहने छ ।