विराटनगर लेडिज सर्कलले गरायो ११२ विद्यार्थीको आँखा र कान परीक्षण

  • चिरफार डटकम, विराटनगर २५४  पटक हेरिएको

आइतबार, चैत्र ०८, २०८२ समय : १७:२९:४२ , १४ घन्टा अगाडि

विराटनगर लेडिज सर्कल ५ ले १ सय १२ जना विद्यार्थीको आँखा र कानको परीक्षण गराएका छन् । विराटनगर लेडिज सर्कल ५ ले आइतबार विराटनगर महानगरपालिकाको वडा नं. ५ स्थित श्री सिद्धकाली आधारभूत विद्यालयमा आयोजना गरेको निःशुल्क शिविरमा १ सय १२ जना विद्यार्थीहरूले आँखा र कानको परीक्षण गराए ।

विद्यालयमा मन्टेश्वरीदेखि कक्षा ५ सम्म १ सय ५५ जना विद्यार्थी अध्ययनरत रहेका छन् । जसमध्ये आइतबार १ सय १२ जना विद्यार्थीले आँखा र कानको परीक्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकुमार यादवले बताए । विराटनगर लेडिज सर्कल ५ ले विराटनगर आँखा अस्पताल सँग सहकार्य गरेर विद्यालयमा निःशुल्क शिविरको आयोजना गरेका थिए ।

१ सय १२ जना विद्यार्थीहरूले आँखा परीक्षण गराउँदा आँखामा कुनै प्रकारको समस्या देखिएन । तर २५ जना विद्यार्थीमा कान सम्बन्धी समस्या देखिएको छ । २३ जना विद्यार्थीको कानमा गुजी देखिएको छ । २ जना विद्यार्थीको कानको जालीमा समस्या देखिएको छ ।

विराटनगर लेडिज सर्कल ५ का अध्यक्ष कुसुम लुनियाँले कानमा समस्या देखिएको विद्यार्थीको उपचारमा लाग्ने खर्च आफ्‌नो संस्थाले व्यहोर्ने बताए । विराटनगर लेडिज सर्कल ५ का अध्यक्ष कुसुम लुनियाँ, पूर्व अध्यक्ष निलम कुन्डलिया, उपाध्यक्ष विनिता धाडेवा, सचिव प्रिती चचान र कोषाध्यक्ष मोहिनी लुनियाँ सहित सदस्यहरू निःशुल्क शिविरमा सहभागी थिए ।

विराटनगर आँखा अस्पतालका नेत्र सहायक निरज सिंह, प्राविधिक सुस्मा विश्वास, पुजा यादव र मावेन्द्रप्रसाद यादवको टोलीले विद्यार्थीहरूको आँखा र कानको परीक्षण गरेका थिए ।

करेन्ट चाउचाउका सञ्चालक विवेक मालपानीले विराटनगर लेडिज सर्कल ५ लाई सहयोग स्वरूप उपलब्ध गराएको १ सय ५० प्याकेट चाउचाउ र १ सय ५० प्याकेट पोटाटो चिप्स शिविरमा सहभागी विद्यार्थीहरूलाई वितरण गरेका थिए ।