घर निर्माण प्रदर्शनीको तयारी पुरा

  • ब्रह्मदेव यादव, विराटनगर १४५  पटक हेरिएको

बुधबार, चैत्र ११, २०८२ समय : १२:४८:४१ , २ घन्टा अगाडि

उद्योग संगठन मोरङले विराटनगरमा आयोजना गर्न लागेको घर निर्माण प्रदर्शनीको तयारी पुरा भएको छ । उद्योग संगठन मोरङले चैत १२ देखि १६ गतेसम्म विराटनगरस्थित जैन भवनको प्राङ्गणमा घर निर्माण प्रदर्शनीको आयोजना गर्न लागेको छ ।

काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण प्रदर्शनीको आयोजना हुन लागेको हो । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चैत १२ गते बिहीबार दिनको २ बजे विराटनगरको जैन भवनमा घर निर्माण प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला विशिष्ट अतिथिको रूपमा घर निर्माण प्रदर्शनीको उद्घाटन समारोहमा सहभागिता जनाउने छ ।

उद्योग संगठन मोरङले घर निर्माणका लागि तयारी अवस्थामा रहेका व्यक्तिलाई एउटै थलोबाट घर निर्माण सम्बन्धी सम्पूर्ण जानकारी गराउने उद्देश्यका साथ घर निर्माण प्रदर्शनीको आयोजना गर्न लागिएको हो ।

सिथिल अवस्थामा रहेको आर्थिक क्षेत्रलाई चलायमान बनाउन र औद्योगिक क्षेत्रको उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ घर निर्माण प्रदर्शनीको आयोजना गर्न लागिएको उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए । २५ देखि ३० लाख रुपैयाँ खर्च गरेर उद्योग संगठन मोरङले ५ दिने घर निर्माण प्रदर्शनी आयोजना गर्न लागेको हो ।

जहाँ औद्योगिक एवं व्यापारी क्षेत्रको ७५ वटा स्टल रहने छ । घर निर्माणका लागि जति पनि सामग्री चाहिन्छ ती सबै सामग्री एउटै थलोबाट उपभोक्ताले अवलोकन गर्न पाउने छन् ।

घर निर्माण प्रदर्शनीमा विराटनगर महानगरपालिकाको स्टल रहने छ । र विराटनगर महानगरपालिकाको घर निर्माण सँग सम्बन्धित प्राविधिकले घर निर्माण गर्नुअघि पुरा गर्नुपर्ने मापदण्ड र घर निर्माणका लागि नक्सा बनाउनेदेखि नक्सा पास गराउनेसम्म लाग्ने सरकारी दस्तुर र खर्चको बारेमा समेत जानकारी गराउने छन् ।

घर निर्माण प्रदर्शनीमा ८ प्रकारको थिमेटिक सेसन सञ्चालन हुने उद्योग संगठन मोरङले जानकारी गराएको छ ।