- ब्रह्मदेव यादव, विराटनगर ५७० पटक हेरिएको
बिहिबार, चैत्र १२, २०८२ समय : १७:५८:२९ , २ महिना अगाडि
विराटनगरमा बिहीबारदेखि घर निर्माण सम्बन्धी ५ दिने प्रदर्शनी सुरु भएको छ । चैत १६ गते सोमबारसम्म घर निर्माण सम्बन्धी प्रदर्शनी सञ्चालनमा रहने छ । उद्योग संगठन मोरङले देशको राजधानी काठमाडौँ बाहिर पहिलो पटक कोशी प्रदेशको राजधानी विराटनगरमा घर निर्माण सम्बन्धी प्रदर्शनीको आयोजना गरेको हो ।

विराटनगरस्थित जैन भवनको प्राङ्गणमा सुविधा सम्पन्न डोम भित्र सुरु भएको घर निर्माण सम्बन्धी प्रदर्शनी अवलोकनका लागि कुनै किसिमको शुल्क नलाग्ने आयोजक संस्था उद्योग संगठन मोरङले जानकारी गराएको छ । जैन भवनको प्राङ्गणमा घर निर्माण सम्बन्धी प्रदर्शनीमा उद्योगी तथा व्यापारी फर्मको ७५ वटा स्टल रहेका छन् ।
जसमध्ये कतिपय बहुराष्ट्रिय कम्पनीको स्टल रहेका छन् । घर निर्माणका लागि उपभोक्तालाई चाहिने सम्पूर्ण आवश्यक सामग्रीबारे एउटै थलोमा जानकारी गराउने उद्देश्यका साथ उद्योग संगठन मोरङले घर निर्माण सम्बन्धी प्रदर्शनीको आयोजना गरेको हो ।

उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले औद्योगिक उत्पादनको प्रवर्द्धन र शिथिल अवस्थामा पुगेको बजारलाई चलायमान बनाउन २५ देखि ३० लाख रुपैयाँ खर्च गरेर घर निर्माण प्रदर्शनीको आयोजना गरेको बताए । घर निर्माण सम्बन्धी प्रदर्शनको स्टलबाट घर निर्माणका लागि चाहिने सम्पूर्ण सामग्रीको अवलोकन र सामग्री खरिद बारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यका साथ प्रदर्शनीको आयोजना गरिएको अध्यक्ष राठीले बताए ।
नेपाल उद्योग परिसंघ कोशी प्रदेश समितिका अध्यक्ष एवं संविधान सभाका सदस्य पवन सारडा, मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी, उद्योग संगठन मोरङका वरिष्ठ उपाध्यक्ष भोलेश्वर दुलाल र संगठनका उपाध्यक्ष एवं घर निर्माण प्रदर्शनी संयोजक सुरेन्द्र गोल्छाले घर निर्माण प्रदर्शनीबाट घर निर्माणको पर्खाइमा रहेका उपभोक्तालाई फाइदा पुग्ने बताए ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले घर निर्माण प्रदर्शनीको उद्घाटन गरे । मुख्यमन्त्री कार्कीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालनमा रहेको औद्योगिक उत्पादनको प्रवर्द्धनका लागि सुविधा सम्पन्न प्रदर्शनी स्थल निर्माण गरिदिने घोषणा गरेका छन् । तर त्यसका लागि जग्गाको व्यवस्थापन निजी क्षेत्रले गर्नु पर्ने मुख्यमन्त्री कार्कीको भनाई छ ।
नेपाल उद्योग परिसंघका केन्द्रिय उपाध्यक्ष एवं कोशी प्रदेशका संस्थापक अध्यक्ष भीम घिमिरेले विराटनगर महानगरपालिकाको वडा नं. ३ स्थित नेपाल आयलनिगम नजिक रहेको सत्यनारायण मन्दिर गुढीको २ बिगा १ कठ्ठा क्षेत्र फलको जग्गामा प्रदर्शनी स्थल निर्माण हुनु पर्ने धारणा अगाडी सारेका छन् ।

सङ्घीय प्रदेश र स्थानीय गरी ३ तहकै सरकारले सत्यनारायण मन्दिर गुढीको जग्गा ९९ वर्षका लागि लिजमा लिएर औद्योगिक प्रदर्शनी स्थल निर्माण गर्ने सम्झौता पनि भएको हो । तर राजनीतिक विवादका कारण अगाडी बढ्न सकेन । त्यही जग्गामा प्रदर्शनी स्थल निर्माण हुनु पर्नेमा घिमिरेले जोड दिएका छन् ।