राजेन्द्र राउत दोस्रो पटक अध्यक्षमा निर्वाचित

  • ब्रह्मदेव यादव, विराटनगर १८३  पटक हेरिएको

सोमबार, चैत्र २३, २०८२ समय : १४:५५:०२ , ३ घन्टा अगाडि

६७.३७ प्रतिशत मत प्राप्त गरेर राजेन्द्र राउत दोस्रो पटक नेपाल उद्योग वाणिज्य महासंघको कोशी प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । ३२.६३ प्रतिशत मत प्राप्त गरेर नविन रिाजल अध्यक्षमा पराजित भए ।

जिल्ला तथा नगरबाट ५० प्रतिशत, वस्तुगतबाट २० प्रतिशत र एसोसिएटबाट ३० प्रतिशत मत भारको आधारमा राउतले ६७.३७ प्रतिशत मत प्राप्त गरेर अध्यक्षमा निर्वाचित भए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा जिल्ला तथा नगर, वस्तुगत र एसोसिएट गरी ३ समूहबाट २ सय ३ जना मतदाता रहेका थिए । जसमध्ये नवनिर्वाचित अध्यक्ष राउतले १ सय ४२ मत प्राप्त गरे ।

रिजालले ५८ मत पाए । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको आइतबार विराटनगरमा सम्पन्न निर्वाचनबाट  राउतको पुरै प्यानल निर्वाचित भए ।

जिल्ला तथा नगरबाट १ मत पत्र खाली भेटिए । वस्तुगत तर्फबाट २ मत बदर घोषित भए । जिल्ला तथा नगर, वस्तुगत र एसोसिएटबाट १/१ जना उपाध्यक्षमा निर्वाचित भए । जिल्ला तथा नगरबाट ऋषि तिम्सिना, वस्तुगतबाट राजन श्रेष्ठ र एसोसिएटबाट रविन दाहाल उपाध्यक्षमा निर्वाचित भए ।

श्रवण अग्रवाल, कोषाध्यक्षमा निर्विरोध निर्वाचित भए । सदस्यहरूमा जिल्ला तथा नगरबाट ५ जना, वस्तुगतबाट २ जना र एसोसिएटबाट २ जना निर्वाचित भए ।

सदस्यमा जिल्ला तथा नगरबाट राजिव ढुंगाना, नविन चौधरी, कृष्णप्रसाद रिजाल, खड्गबहादुर श्रेष्ठ र जयप्रकाश शर्मा, वस्तुगतबाट सुभाष आचार्य र दिपक पाण्डे, एसोसिएटबाट देवकिनन्दन अग्रवाल र भविष श्रेष्ठ निर्वाचित भए ।

नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिमा १७ सदस्यीय कार्यसमिति रहने व्यवस्था छ । नवनिर्वाचित अध्यक्षले १ महिलासहित ३ जनालाई सदस्यमा मनोनयन गर्ने व्यवस्था छ ।