- ब्रह्मदेव यादव, विराटनगर ३१२ पटक हेरिएको
आइतबार, बैशाख ०६, २०८३ समय : १६:३१:५७ , ३ घन्टा अगाडि
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले भारतसँग सिमाना जोडिएको सिमानाकामा कडाई गरेको छ । भारतीय बजारबाट १०० रुपैयाँभन्दा बढीको सामान खरिद गरेर ल्याउन नपाउने बाध्यकारी सरकारी नियमको कारण सर्वसाधारणलाई सामान्य जीवन बिताउन समस्या पर्न थालेको छ ।
विपन्न वर्गका जनताको भान्सा महँगिँदा उनीहरू अप्ठ्यारो महसुस गर्न थालेका छन् । र आफूहरू माथि बज्रपात नै परेको अनुभव गर्न थालेका छन् । भारतसँग सिमाना जोडिएको नेपालीहरू सामान्य जीवनयापन गर्नका लागि चाहिने आवश्यक सामग्री भारतीय बजारबाट किनमेल गर्ने पुरानो परम्परा छ ।
विराटनगर महानगरपालिकासँग सिमाना जोडिएको भारतीय बजार जोगबनीमा प्रत्येक दिन हजारौँ नेपालीले किनमेल गर्ने चलन छ । नेपाल र भारत बिच “रोटी–बेटी” को सम्बन्ध छ । खुल्ला सिमानाका कारण वर्षैदेखि नेपाली सीमान्त क्षेत्रको भारतीय बजारमा खाद्यान्नदेखि लत्ताकपडा किनमेल गर्ने चलन छ ।
नेपालको तुलनामा ५० प्रतिशतले भारतीय बजार सस्तो छ । विराटनगरको उद्योग तथा व्यापारी प्रतिष्ठानमा महिनाको १५ देखि २० हजार रुपैयाँ कमाउने विपन्न वर्गले भारतीय बजारमा सामान्य जीवन चलाउनका लागि ५ हजार रुपैयाँको सामान खरिद गरेर ल्याउँदा १ महिनासम्म पुग्छ । तर त्यही सामान नेपाली बजारमा खरिद गर्दा १० हजार रुपैयाँले पुग्दैन ।
सामान्य जीवन गुजार गर्नका लागि अधिकांश विपन्न वर्गको किनमेल गर्ने थलो जोगबनी बजार नै हो । सर्वसाधारणले चुपचाप बालेनलाई मतदान गर्दा खुसी जीवनको अपेक्षा गरेका थिए । तर त्यही बालेन सरकारले सीमामा कडाई गरेर चुपचाप भोट लिए पनि जनतालाई बोल्न बाध्य बनाई दिएको छ । सर्वसाधारणको मुखमा बोजो लगाइ दिएका छन् ।
जसको कारण बालेन सरकारप्रति जनताको असन्तुष्टि बढ्न थालेको छ । यसलाई समयमै समाधान गर्न नसकेको खण्डमा केही समय पछि भारतसँग सिमाना जोडिएको तराई मधेसको जिल्लामा ठुलो आन्दोलन हुनेछ । त्यसको तयारीका लागि सर्वसाधारण छलफलमा जुटेका छन् ।
सरकारले सिमानाकामा परिचालन गरेको सशस्त्र प्रहरी जनतासँग अभद्र व्यवहार गरिरहेका छन् । र उनीहरू जनताका विरुद्ध ज्याजतिमा उत्रिएका छन् । सर्वसाधारणले भन्सार काटेर सामान ल्याउँछु भन्दा पनि भन्सारका कर्मचारीले सामानको राजश्व लिन चाहिरहेका छैनन् ।
सशस्त्र प्रहरीले सर्वसाधारणको सामान जफत गरिरहेका छन् । तर व्यापारिक प्रयोजनका लागि तस्कर गिरोहले सशस्त्र प्रहरीलाई दैनिक रूपमा मोटो रकम घुस खुवाएर निर्बाध रूपमा भारतबाट नेपाल तर्फ ठूलो परिमाणमा सामान आयात गरिरहेका छन् । यस विषयमा राज्य मौन छ ।