- ब्रह्मदेव यादव, विराटनगर ४४३ पटक हेरिएको
सोमबार, बैशाख ०७, २०८३ समय : १५:१२:२७ , २ घन्टा अगाडि
विराटनगरमा २ सय ५० करोड रुपैयाँको लागतमा खुलेको ५ तारे होटेल लेमन–ट्री प्रिमियरको सोमबार उद्घाटन भएको छ । होटेलका सञ्चालक विकास चौधरी, विनय चौधरी, कविन श्रेष्ठ, प्रशान्त तातेड र मनोज विक्रम शाहले पूजापाठ गरेर होटेलको उद्घाटन गरेका छन् ।
होटेलका सञ्चालक विकास चौधरी र विनय चौधरी दाजु–भाई हुन् । सोमबार होटेलको पूजापाठ पछि उद्घाटन गरिए पनि केही समयपछि मात्रै होटेल सञ्चालनमा ल्याउने सञ्चालक कविन श्रेष्ठले जानकारी गराए । विराटनगरमा खुलेको ५ तारे होटेल लेमन–ट्री प्रिमियर होटेल क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड हो ।
यसको कन्ट्रोल भारतको नयाँ दिल्लीमा रहेको कार्यालयले गर्नेछ । होटेल लेमन–ट्री प्रिमियरमा ८१ कोठा रहेका छन् । जहाँ २ सय देखि २ सय ३० जना अन्तर्राष्ट्रिय जगतका पाहुँनाले रात बिताउन पाउँछन् । होटेलमा अन्तर्राष्ट्रिय जगतका विशिष्ट व्यक्तिदेखि नेपालका राष्ट्रपति, पूर्व राष्ट्रपति, प्रधानमन्त्री, पूर्व राजा जस्ता विशिष्ट व्यक्तिहरूका लागि स्वीट रुमको निर्माण गरिएको छ ।
होटेल लेमन–ट्री प्रिमियरमा १ रात बिताउनका लागि न्यूनतम ८ हजारदेखि २५ हजार रुपैयाँसम्म कोठा भाडा तिर्नुपर्ने हुन्छ । होटेलको ५ तल्लामा स्विमिङ पुलको निर्माण गरिएको छ । जुन स्विमिङ पुल होटेलमा बास बस्न आउने पाहुना र होटेलका क्लब मेम्बरले मात्र प्रयोग गर्न पाउने छ ।
होटेलमा ६ हजार स्वाएर फिटको सेमिनार हल निर्माण गरिएको छ । जहाँ १ पटकमा १ हजार जनाले सेमिनारमा सहभागिता जनाउन पाउने छ । होटेलमा विभिन्न देशका पाहुनाहरूलाई लक्षित गरेर बेग्लाबेग्लै रेष्टुरेन्ट निर्माण गरिएको छ । जुन रेष्टुरेन्टमा अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम विभिन्न देशको खानाको परिकार उपलब्ध हुनेछ ।
होटेलमा मादक पदार्थ सेवन गर्नका लागि बेग्लै रेष्टुरेन्ट निर्माण गरिएको छ । होटेलमा १० हजार स्वाएर फिटको वेलनेस सेन्टर, जिम, जुम्बा, योग, एरोबिल, स्टीम, स्वना, जकुर्जी, मसाज थेरापी, मेकप रुम, ब्यूटि पार्लर, जेन्स पार्लर, स्पाको सुविधा लिन सक्ने छन् । पहिलो चरणमा होटेल सञ्चालन भइसकेपछि दोस्रो चरणमा क्यासिनो सञ्चालनमा ल्याउने सञ्चालक मनोज विक्रम शाहले जानकारी गराए ।