कोशी प्रदेशको नामाकरण–सिमाकरणमा कांग्रेसको दोहोरो भूमिका नै हारको मुख्य कारण

  • चिरफार डटकम, विराटनगर १३३  पटक हेरिएको

बुधबार, बैशाख ०९, २०८३ समय : १४:५२:१४ , २ घन्टा अगाडि

नेपाली कांग्रेसका सहमहामन्त्री डा. डिला संग्रौलाले कोशी प्रदेशको नामाकरण–सिमाकरणमा कांग्रेसको दोहोरो भूमिकाका कारण प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले हार बेहोरेको धारणा राखेका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिले बुधबार विराटनगरमा आयोजना गरेको कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहमहामन्त्री डा. संग्रौलाले कोशी प्रदेशको नामाकरण–सिमाकरणमा कांग्रेसले स्पष्ट अडान लिन नसकेका कारण प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले कोशी प्रदेशमा शर्मनाक हार बेहोरेको बताए ।

कोशी प्रदेश कांग्रेसको आधार क्षेत्र हो । त्यही आधार क्षेत्रमा रहेको मोरङ, झापा, सुनसरी, उदयपुर जिल्लामा समेत कांग्रेसले शर्मनाक हार बेहोरेकोले यसको समीक्षाको आवश्यकता रहेको डा. संग्रौलाले बताए ।

फागुन २१ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले प्रत्यक्ष तर्फ १८ र समानुपातिक तर्फ २० गरी ३८ सिटमा खुम्चिएको छ ।

देशको सबैभन्दा पुरानो पार्टी कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा शर्मनाक हार बेहोरेकोले यसको समीक्षा गर्दै आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा पुरानो साथ फर्काउने उद्देश्यका साथ पार्टीले बुधबार विराटनगरमा कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रम आयोजना गरेका थिए ।

नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुले आगामी प्रदेश सभा र स्थानीय तहको निर्वाचनमा जित निकाल्नका लागि गाउँस्तरबाट सांगठनीक अभियान सञ्चालन गर्न पार्टी नेतृत्वलाई सुझाव दिए । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीले शर्मनाक हार बेहोरेकोले यसको निर्णायक समीक्षा गर्नुपर्ने अध्यक्ष लिम्बुले बताए ।

कोशी प्रदेशका १४ वटै जिल्लाका जिल्ला सभापतिहरूले निर्वाचन समीक्षा कार्यक्रममा मन्तव्य राख्दै कांग्रेसलाई पुरानो अवस्थामा फर्काउनका लागि गाउँस्तरबाट नयाँ ढङ्गले संगठन निर्माण सँगै क्रियाशील सदस्यता वितरण गर्नुपर्ने सुझाव दिए ।

नेपाली कांग्रेसका सभापति गगन थापा सहित पार्टीका केन्द्रीय नेताहरू कोशी प्रदेश स्तरीय निर्वाचन समीक्षा कार्यक्रममा सहभागी भएका थिए ।