- ब्रह्मदेव यादव, विराटनगर १९० पटक हेरिएको
सोमबार, बैशाख १४, २०८३ समय : १६:०७:३३ , ३ घन्टा अगाडि
बालेन्द्र शाह (बालेन) सरकारको सुशासन अभियानको कारण देशको सबै क्षेत्र अस्तव्यस्तको अवस्थामा पुगेको छ । भ्रष्ट्राचार विरुद्ध शून्य सहनशीलता र सबै क्षेत्रलाई व्यवस्थित एवं मर्यादित बनाउन चालिएको अभियानको कारण धेरैको रोजगारी गुम्ने अवस्था आएको छ ।
रोजगारी गुमेका सबै क्षेत्र तह र तप्काका गरिखाने सर्वसाधारणलाई ठुलो मार्का परेको छ । र उनीहरूको परिवार बिचल्लीको अवस्थामा पुगेको छ । उनीहरू सडकमा रात बिताउने अवस्था तयार भइरहेको छ ।
बालेन सरकारले निजी क्षेत्रका विरुद्ध एक्सनमा आएपछि उद्योगी व्यवसायीको मनोबल खस्किएको छ । र उनीहरू थप लगानी गरेर रोजगारी वृद्धि गर्ने अभियानबाट पछाडि फर्केका छन् । निजी क्षेत्रले थप लगानी नगर्ने र सरकारको रवैयाका विरुद्ध संघर्ष गर्ने तयारीमा जुटेका छन् ।
विराटनगरमा सञ्चालनमा रहेका ५० भन्दा बढी स्पाका सञ्चालकहरूले सयौँ महिला कामदारलाई रोजगारी दिएका छन् । एक जना महिला कामदार स्पामा काम गर्दा उसको रोजगारीले ५/७ जना सदस्यको जीवनयापन भइरहेको छ । तर सरकारले विराटनगरको स्पामा यौनजन्य गतिविधि भइरहेको र कतिपय स्पा सरकारी मापदण्ड विपरीत सञ्चालनमा रहेको भन्दै छापा मारेर केही सञ्चालकलाई नियन्त्रणमा लिई मुद्दा चलाउने तयारी गरेपछि स्पा बन्द हुने अवस्था आएको छ ।
जसको कारण धेरैको रोजगारी गुम्ने अवस्था आएको छ । सरकारले विराटनगर बसपार्कमा भइरहेको अवैध यौनजन्य गतिविधिलाई नियन्त्रण गर्न वेश्यावृत्ति हुने गरेको होटेल तथा लजको अगाडी प्रहरी परिचालन गरेर निगरानी बढाएपछि यौनजन्य गतिविधिमा संलग्न महिलालाई गरिखान गाह्रो भएको छ ।
सङ्घीय र स्थानीय सरकारले सडक पेटीमा व्यापार व्यवसायी गरी रहेका सर्वसाधारणलाई लखेट्न थालेपछि धेरैको रोजी रोटी गुमेको छ । र उनीहरू सडकमा आइपुगेका छन् । सरकारले भ्रष्ट्राचार विरुद्ध शून्य सहनशीलता र सुशासन अभियान सञ्चालन गरेपछि धेरै क्षेत्रले कर्मचारी कटौती गरेका छन् ।
जसका कारण रोजगारी गरेर जेनतेन जीवन चलाइ रहेका अधिकांशको रोजगारी गुमेको छ । सरकारले भारतसँग सिमाना जोडिएको भन्सार नाकामा कडाई गरेपछि सस्तो मूल्यमा सामान खरिद गरेर जीवन निर्वाह गरिरहेका सीमान्त क्षेत्रका नेपालीहरूको जीवन कष्टकर अवस्थामा पुगेको छ ।
सरकारले १ सय रुपैयाँ भन्दा बढीको सामान भारतीय बजारबाट किनेर नेपाल ल्याउन नपाउने गरेको बाध्यकारी नियमको कारण दुई गुणा बढी मूल्यमा नेपालमै सामान खरिद गर्दा मध्यम वर्ग कष्टकर जीवन बिताउन बाध्य भएका छन् । र उनीहरू सरकारका विरुद्ध संघर्ष गर्ने तयारी गरिरहेका छन् ।