- ब्रह्मदेव यादव, विराटनगर १७७ पटक हेरिएको
बुधबार, बैशाख १६, २०८३ समय : १८:१४:१८ , २ घन्टा अगाडि
विराटनगर भन्सार कार्यालयमा दुई दिन यता सयौँ कन्टेनर थन्किएका छन् । व्यापारी प्रतिष्ठानले दोस्रो तथा तेस्रो देशबाट आयात गरिएको सामान बोकेको कन्टेनर विराटनगर भन्सार कार्यालयमा थन्किएको हो ।
नेपाल सरकारले मङ्गलवारदेखि लागु हुने गरी दोस्रो तथा तेस्रो देशबाट नेपालमा आर्यात हुने सामानमा एम.आर.पी. लागु गरेको छ । व्यापारी प्रतिष्ठानले दोस्रो तथा तेस्रो देशबाट आयात गरिएको सामग्रीमा एम.आर.पी. उल्लेख गरिएको छैन भने भन्सार कार्यालयबाट जाँच पास नहुने सरकारले व्यवस्था गरेको छ ।
व्यापारीले आयात गरेको सामानमा एम.आर.पी. उल्लेख नगरिएकोले जाँच पास हुन नसकेको विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत उमेश श्रेष्ठले जानकारी गराए ।
बुधवार चिरफार डटकम सँग कुरा गर्दै प्रमुख भन्सार अधिकृत श्रेष्ठले सरकारले लागु गरेको नियम पालना गराउन खोजेकोले विराटनगर भन्सार कार्यालयमा व्यापारीले आयात गरेको सयौँ कन्टेनर थन्किएको बताए । मङ्गलवार र बुधवार औद्योगिक कच्चा पदार्थ मात्र विराटनगर भन्सार कार्यालयबाट आयात भएको प्रमुख भन्सार अधिकृत श्रेष्ठले बताए ।
व्यापारिक क्षेत्रले आयात गरेको एम.आर.पी. उल्लेख नभएको सामान विराटनगर भन्सार कार्यालयको हाताभित्र थन्किएको छ । विराटनगर भन्सार कार्यालयमा सामान बोकेको सयौँ कन्टेनर थन्किदा व्यापारीले प्रत्येक दिन गाडी पार्किङ शुल्क १ हजार र गाडीको भाडा बापत ५ हजार रुपैयाँ तिर्नुपर्ने अवस्था श्रृजना भएको छ । जसको कारण व्यापारी क्षेत्र मार्कामा परेका छन् ।