बालेन सरकारको नीति राम्रो छ – विकास बेगवानी 

  • ब्रह्मदेव यादव, विराटनगर १७०  पटक हेरिएको

बिहिबार, बैशाख २४, २०८३ समय : १६:११:५० , १ घन्टा अगाडि

मोरङ उद्योग व्यापार संघका उपाध्यक्ष विकास बेगवानीले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्व सरकारको नीति राम्रो रहेको बताएका छन् ।

बिहीबार विराटनगरमा चिरफार डटकम सँग कुरा गर्दै उपाध्यक्ष बेगवानीले प्रधानमन्त्री बालेन शाहको नेतृत्वमा सरकार गठन भएदेखि नै अहिलेसम्म पहिलाको सरकारको तुलनामा फरक ढंगले काम भइरहेको बताए ।

सरकारले सुरुमा पुरानो ऐन, नियम कानुन संशोधन गरेर विभिन्न विभाग खारेज गर्ने गरेको निर्णय स्वागत योग्य रहेको बेगवानीले बताए ।

देशमा कायम रहेको बेतिथि र चरम भ्रष्ट्राचार अन्तका लागि भ्रष्ट्राचार विरुद्धको फाइल खोल्ने सरकारको अर्को महत्त्वपूर्ण निर्णय पनि स्वागत योग्य रहेको बेगवानीले बताए ।

सरकारले देशमा सुशासन कायम गराउनका लागि सुकुम्वासी समस्या समाधानका लागि चालेको कदम पनि स्वागत योग्य रहेको बेगवानीको भनाई छ ।

पहिलाको सरकारले सुकुम्वासीलाई भोट बैंकको रूपमा प्रयोग गर्ने गरी समस्या जिउँका तिउँ राख्ने चलन थियो । तर बालेन सरकारले सुकुम्वासी समस्या सधैका लागि समाधान गर्ने गरी चालेको कदम राम्रो छ ।

सक्कली सुकुम्बासीले घर जग्गा पाउने र नक्कली सुकुम्वासीले अवैध रूपमा कब्जा गरेको घर जग्गा खाली गराउने सरकारको निर्णय स्वागत योग्य रहेको बेगवानीले बताए ।

चिरफार सँगको विशेष कुराकानीमा उपाध्यक्ष बेगवानीले भने– सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेट मार्फत कर नीतिमा ठुलो फेरबदल गर्ने गरी काम गरिरहेको छ । सरकारले केही समयपछि करका दरहरु, बहुदर, भ्याट प्रणालीमा लाने गरी छलफल तथा अध्ययन गरिरहेका छन् ।

जुन सरकारको राम्रो पक्ष हो । खुल्ला सिमानामा तस्करी नियन्त्रणका लागि चालिएका कदम स्वागत योग्य छ । सरकारले उद्योगी व्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिवर्तनको आवश्यकता छ । सबै उद्योगी व्यवसायी खराब हुँदैन ।

उनीहरूसँग छलफल गरेर उनीहरूको मन जितेर नीति नियम लागु गर्दा दीर्घकालीन रूपमा यसको राम्रो सन्देश प्रवाह हुन सक्ने उपाध्यक्ष बेगवानीले बताए ।