“मूल्यवृद्धि सम्बोधन नभएसम्म निर्माण कार्य ठप्प”

  • चिरफार डटकम, विराटनगर ३४८  पटक हेरिएको

बिहिबार, बैशाख ३१, २०८३ समय : १६:५८:५६ , ४ हप्ता अगाडि

निर्माण व्यवसायीले मूल्यवृद्धि सम्बोधन नभएसम्म निर्माण कार्य ठप्प रहने सरकारलाई चेतावनी दिएको छ । निर्माण व्यवसायी संघ मोरङ विराटनगरले बिहीबार जिल्ला प्रशासन कार्यालय मोरङमा दिएको धर्ना पश्चात् प्रमुख जिल्ला अधिकारी युवराज कट्टेल मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिलाई सम्बोधन गर्न माँग गरेका छन् ।

निर्माण व्यवसायी महासंघ कोशीका वरिष्ठ उपाध्यक्ष केशवकुमार बुढाथोकी र निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष महेशकुमार मिश्रको नेतृत्वमा गएको निर्माण व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी कट्टेल मार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धि सम्बोधन नभएसम्म निर्माण कार्य ठप्प रहने चेतावनी दिएका छन् ।

निर्माण व्यवसायी संघ मोरङ विराटनगरका अध्यक्ष महेशकुमार मिश्रले अमेरिका, इजरायल र इरान बिच जारी युद्धका कारण इन्धनदेखि निर्माण सामग्रीको मूल्यवृद्धि भएको अवस्थामा सस्तोमा ठेक्का लिएका व्यवसायीले महंगो मूल्यमा सामान खरिद गरेर निर्माण कार्य गर्न सक्ने अवस्था नरहेको बताए ।

निर्माण उद्योग संकटमा रहेकोले यसलाई अगाडी बढाउन सरकारले मूल्यवृद्धिलाई सम्बोधन गर्नुपर्ने निर्माण व्यवसायीको माँग रहेको अध्यक्ष मिश्रले बताए ।