उद्योगी पवन सारडा मधेसी एकता सम्मेलनको प्रमुख अतिथि

  • ब्रह्मदेव यादव, विराटनगर २०६  पटक हेरिएको

आइतबार, जेठ १७, २०८३ समय : १७:४७:१३ , ४ घन्टा अगाडि

संविधान सभाका सदस्य एवं नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष, उद्योगी पवन सारडाले मधेसी एकतामा जोड दिएका छन् ।

राजनीतिककर्मी उमेश यादव संयोजक रहेको मधेसी उत्थान विचार मञ्चले आइतबार विराटनगरमा आयोजना गरेको मधेसी एकता सम्मेलनको प्रमुख अतिथि उद्योगी पवन सारडा रहेका थिए ।

सारडाले मधेसी, थारु, मुस्लिम, मारवाडी जातिगत रूपमा विभाजित नभई संगठित रूपमा अगाडी बढेको खण्डमा अधिकार प्राप्त गर्न सक्ने बताए ।

कार्यक्रममा मधेसवादीदेखि गैर मधेसवादी राजनीतिक दलमा आबद्ध मधेसी नेता र मधेसी बुद्धिजीवीहरू सम्मेलनमा सहभागी थिए । नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझी र राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री प्रहलादप्रसाद साहले अधिकार प्राप्तिका लागि मधेसी समुदाय संगठित भएर अगाडी बढ्नु पर्ने आजको आवश्यकता रहेको बताए ।

राजनीतिककर्मी एवं सामाजिक व्यक्तित्व सनातन मण्डलले मधेसवादीदेखि गैर मधेसवादी राजनीतिक दलमा आबद्ध मधेसी नेताहरूले गुलामीको मानसिकता नत्यागेसम्म मधेसी समुदाय अधिकार प्राप्त गर्न नसक्ने बताए ।

जनता समाजवादी पार्टी नेपाल मोरङका अध्यक्ष राजकुमार यादवले विराटनगर महानगरपालिकाको दक्षिणी क्षेत्र मधेसी बाहुल्य क्षेत्र रहेकोले विकासमा पछाडि परेको बताए । विकासमा जातिवाद र रंग भेद हावी रहेको अध्यक्ष यादवले बताए ।

मधेसी उत्थान विचार मञ्च विराटनगरका अध्यक्ष उमेश यादवले सबै राजनीतिक दलमा रहेका मधेसीलाई एउटै थलोमा उभ्याउने उद्देश्यका साथ मधेसी एकता सम्मेलनको आयोजना गरिएको बताए ।