जोगबनी नाकाको दशगजा क्षेत्रमा काडेतार 

  • ब्रह्मदेव यादव, विराटनगर ३७३  पटक हेरिएको

सोमबार, जेठ १८, २०८३ समय : १३:१३:४६ , १ दिन अगाडि

सशस्त्र प्रहरी बल नेपालले अवैध ओसारपोसार रोक्नका लागि जोगबनी नाकाको दशगजा क्षेत्रमा आइतबार काडेतार लगाएको छ ।

सशस्त्र प्रहरी बल नेपाल रानी, विराटनगर गुल्मका प्रमुख डिएसपी तिलक खड्काले जोगबनी नाकाको दशगजा क्षेत्रमा उचाई कम रहेको पर्खालको उचाई बढाउन काडेतार लगाएको बताए ।

सशस्त्र प्रहरी बल नेपाले आइतबार बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेर ६० मिटर क्षेत्रफलमा रहेको पर्खालमा काडेतार लगाएको हो । सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर गुल्म टंकी र सशस्त्र प्रहरी बल नेपाल रानी गुल्मको संयुक्त पहलमा दशगजा क्षेत्रको पर्खालमा काडेतार लगाएको डिएसपी खड्काले बताए ।

जोगबनी नाकाको नेपाल तर्फको उत्तर तर्फको उचाई कम भएको पर्खालबाट अवैध ओसारपोसर भइरहेको व्यापक जनगुनासो बढेपछि सशस्त्र प्रहरी बल नेपालले काडेतार लगाएको हो ।

केही समय अगाडी जोगबनी नाकाको नेपाल तर्फको दशगजा क्षेत्रमा निर्माण गरिएको घर तथा पसलबाट अवैध ओसारपोसर गर्न घरको पछाडि निर्माण गरिएको ढोका तथा झ्याल मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको पहलमा टालिएको थियो ।