- ब्रह्मदेव यादव, विराटनगर ४०० पटक हेरिएको
मंगलबार, जेठ १९, २०८३ समय : १७:२३:४४ , २ घन्टा अगाडि
विराट व्यापार संघले मंगलबार विराटनगरमा एम.आर.पी. तथा नापतौल सम्बन्धी विशेष अर्न्तक्रिया कार्यक्रम आयोजना गर्यो ।
उद्योगी तथा व्यवसायीलाई एम.आर.पी. तथा नापतौल सम्बन्धी ऐन, कानुन र प्रावधान बारे जानकारी गराउने उद्देश्यले विशेष अर्न्तक्रिया कार्यक्रम आयोजना गरिएको विराट व्यापार संघका अध्यक्ष प्रमोदकुमार अग्रवाल (जिन्दल) ले जानकारी गराए । विराट व्यापार संघका वरिष्ठ उपाध्यक्ष श्यामलाल पौडेल (भवेष) ले एम.आर.पी. नयाँ नभई पुरानो ऐन भएकोले व्यवसायी यसलाई विस्तारै लागु गर्दै जाने बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेष बस्नेतले एम.आर.पी. को ऐन कानुन र प्रावधान बारे तथा गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक संजयकुमार यादवले नापतौल ऐन कानुन र प्रावधान बारे कार्यपत्र प्रस्तुत गरेका थिए ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख बस्नेतले व्यवसायीलाई मूल्य उल्लेख नभएको खुल्ला सामान प्याकेजिङ गरेर बिक्री गर्दा मूल्य सूचिमा मूल्य उल्लेख गर्न सुझाव दिए ।

व्यवसायीले खुल्ला सामान प्याकेजिङ गरेर बिक्री गर्दा मूल्य सूचिमा मूल्य उल्लेख नगरेको खण्डमा ऐन र कानुन बमोजिम जरिवाना गर्ने बताए ।
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका सहायक निरीक्षक यादवले कार्यालयबाट नापतौल सम्बन्धी प्रवाह भइरहेको सेवा सुविधाको बारेमा कार्यपत्र मार्फत व्यवसायीलाई जानकारी गराएका थिए ।

सहायक निरीक्षक यादवले उद्योगी व्यवसायीलाई यन्त्र, ढक तथा तराजुको वैधानिकता कार्यालयबाट पुष्टि गरेर मात्रै सामान विक्री गर्न सुझाव दिए । उद्योगी व्यवसायीले गुणस्तर तथा नापतौल कार्यालयको ऐनलाई पालना नगरेको खण्डमा जरिवाना गर्ने बताए ।
विराट व्यापार संघका निवर्तमान अध्यक्ष अंशु बंजारा, पूर्व अध्यक्ष यादव पोखरेल, शिवप्रसाद रिजाल सहित बाक्लो संख्यामा उद्योगी व्यवसायी अर्न्तक्रिया कार्यक्रममा सहभागी थिए । निजी क्षेत्रसँग आबद्ध विभिन्न संघ संस्थाका पदाधिकारीहरू अर्न्तक्रिया कार्यक्रममा सहभागी थिए ।