बालसंस्कार केन्द्र सञ्चालनका लागि “भजन क्लब्बिङ कन्सर्ट”

  • चिरफार डटकम, विराटनगर २१७  पटक हेरिएको

मंगलबार, जेठ २६, २०८३ समय : १३:२१:४६ , १५ घन्टा अगाडि

ह्यासट्याग इभेन्टले विश्व हिन्दु परिषद् नेपाल सँग सहकार्य गरेर मोरङ जिल्लामा बालसंस्कार केन्द्र सञ्चालनका लागि “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागेको छ ।

ह्यासट्याग इभेन्टले मङ्गलवार पत्रकार सम्मेलन गरेर सनातन धर्मको संरक्षण, संवर्द्धन तथा धार्मिक जागरण जगाउने उद्देश्यका साथ २०८३ जेठ ३० गते शनिवार विराटनगरको जैन भवनमा “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागेको जानकारी गराए ।

ह्यासट्याग इभेन्टले विराटनगरमा “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्नका लागि कौशल अग्रवाललाई अध्यक्षको जिम्मेवारी दिएको छ ।

नितेशकुमार र रोहन साह “भजन क्लब्बिङ कन्सर्ट” आयोजक समितिको सचिव र कोषाध्यक्ष रहेका छन् । सचिव नितेशकुमारले नसा मुक्त युवा समाज निर्माणका लागि मोरङ जिल्लामा बालसंस्कार केन्द्र ट्यूसन सेन्टर सञ्चालन गर्ने र त्यसका लागि कोषमा आर्थिक रकम जम्मा गर्ने उद्देश्यका साथ “भजन क्लब्बिङ कन्सर्ट” आयोजना गर्न लागेको बताए ।

“भजन क्लब्बिङ कन्सर्ट” मार्फत टिकट बिक्री, विज्ञापन र समाजको सबै क्षेत्र तह र तप्काका विशिष्ट व्यक्तिबाट सहयोग रकम संकलन गर्ने उद्देश्य अनुरूप “भजन क्लब्बिङ कन्सर्ट” कार्यक्रम आयोजना गर्न लागेको बताए । “भजन क्लब्बिङ कन्सर्ट” मार्फत १७ लाख रुपैयाँ आम्दानी हुने र १२ लाख रुपैयाँ खर्च हुने सचिव नितेशकुमारले बताए ।

कार्यक्रमबाट बचेको ५ लाख रुपैयाँ कोषमा जम्मा गरेर बालसंस्कार केन्द्र सञ्चालनमा ल्याउने अध्यक्ष कौशल अग्रवालले बताए । पत्रकार सम्मेलनमा विश्व हिन्दु परिषद् नेपालका सल्लाहकार नवलप्रसाद उपाध्याय, अरविन्द ठाकुर सहभागी भएका थिए ।

ह्यासट्यास इभेन्टका सदस्य कुनाल अग्रवाल, मन्नु रौनियार, बिजय साह, सन्दिप साह, आलोक साह, सुमन साह, नितिन जयसवाल पत्रकार सम्मेलनमा सहभागी थिए ।