- चिरफार डटकम, विराटनगर १०४ पटक हेरिएको
शुक्रबार, आषाढ ०५, २०८३ समय : १७:२८:४१ , ३ घन्टा अगाडि
असार ६ गते शनिवार विराटनगरमा सनातन सम्मेलन हुँदैछ । विराटनगर महानगरपालिकाको वडा नं. १ स्थित जिल्ला प्रहरी कार्यालय मोरङको दक्षिण तर्फ खुल्ला मैदानमा आयोजकले निर्माण गरेको त्रिपालको टेन्ट भित्र सनातन सम्मेलन हुन लागेको छ ।
धर्मनिरपेक्षता संविधान निर्माण भएर जारी हुँदा नेपालको संविधान २०७२ प्रति असन्तुष्टि जनाएर हस्ताक्षर नगरेका संविधान सभाका सदस्य एवं उद्योगी पवनकुमार सारडा विराटनगरमा आयोजना हुन लागेको सनातन सम्मेलनको सल्लाहकार रहेका छन् ।

उद्योगी एवं समाजसेवी बेनिगोपाल मुन्दडा, उद्योगी पवनकुमार सारडा, महेश जाजु, प्रकाश मुन्दडा, अनिल साह सम्मेलनको आयोजक समितिमा रहेका छन् । सनातन सम्मेलन मूल आयोजक समितिले शुक्रवार पत्रकार सम्मेलन गरेर एक दिने सनातन सम्मेलनमा हिन्दु, बौद्ध र किराँत धर्म गुरुको सहभागिता रहने जानकारी गराए ।
सम्मेलनमा कोशी र मधेश प्रदेशको १६ जिल्लाका १५ हजारभन्दा बढी सनातन धर्मावलम्बीहरूको सहभागिता रहने जानकारी गराए । कोशी प्रदेश सरकारका पर्यटन वन तथा वातावरण मन्त्री भीम पराजुली र जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य एवं कोशी प्रदेश सरकारका पूर्व मन्त्री जयराम यादव पत्रकार सम्मेलनमा सहभागी थिए ।

सनातन सम्मेलन सम्पन्न गर्न ३५ लाख भन्दा बढी रकम खर्च हुने उद्योगी महेश जाजुले जानकारी गराए । प्रा.डा. भेषप्रसाद धमलालाई सनातन सम्मेलनको संयोजकको जिम्मेवारी दिइएको छ । युवा उद्योगी शिवरतन जोशी सम्मेलनको व्यवस्थापन मुख्य रहेका छन् ।
हिन्दु धर्मगुरु स्वामी अवधेशानन्द गिरी, बौद्ध धर्मगुरु फुपु छेम्बे शेर्पा र किराँत धर्मगुरु आत्मानन्द लिङ्देन सनातन सम्मेलनको मुख्य वक्ता रहेका छन् । उनीहरूले विराटनगरको सनातन सम्मेलनमा आ–आफ्ना धर्मबारे विचार व्यक्त गर्ने कार्यक्रम रहेको आयोजक समितिका प्रकाश मुन्दडाले जानकारी गराए ।
हिन्दु धर्मगुरु अवधेशानन्द गिरी भारत वर्षकै उच्च कोटीको सन्त हो । शनिवार काठमाडौँबाट विराटनगर आइपुग्ने हिन्दु धर्मगुरु गिरी शनिवार साँझ विराटनगरबाट काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।