३ वर्षपछि पुनः कलकत्ताबाट विराटनगर आइपुग्यो कार्गो रेल

  • चिरफार डटकम, विराटनगर २०२  पटक हेरिएको

सोमबार, साउन ०४, २०८३ समय : १५:४०:४७ , १ दिन अगाडि

३ वर्षपछि सोमबार भारतको कलकत्ताबाट कार्गो रेल विराटनगर आइपुगेको छ ।

नेपालका पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिच संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन भएपछि २०८० जेठ १८ गते भारतको कलकत्ताबाट कार्गो रेल विराटनगर आइपुगेका थिए ।

त्यसपछि पूर्ण रूपमा बन्द रहेको कार्गो रेल ३ वर्षपछि सोमबार ४० वटा कन्टेनर बोकेर विराटनगर भन्सार कार्यालयसम्म आइपुगेको छ ।

यस अघि तेस्रो मुलुकबाट कलकत्ता बन्दरगाहसम्म आइपुग्ने गरेको औद्योगिक कच्चा पदार्थ लगायतका सामान कार्गो रेल सेवा मार्फत बिरगंजसम्म पुगिरहेको थियो ।

कलकत्ताबाट बिरगंजसम्म पुग्ने गरेको सामान उद्योगी व्यवसायीले थप ढुवानी खर्च व्यहोरेर सडक मार्गबाट विराटनगरसम्म ल्याउने गरेका थिए ।

अब पूर्व क्षेत्रका उद्योगी व्यवसायीले कलकत्ताबाट कार्गो रेलबाट विराटनगर भन्सार कार्यालयसम्म आइपुगेको सामान आ–आफ्‌ना गन्तव्यसम्म पुर्‍याउने छन् ।

कलकत्ताबाट सडक मार्ग भएर विराटनगरसम्म सामान ल्याउँदा लाग्ने खर्चमा अब कार्गो रेल सेवाबाट ढुवानी गर्दा ४० प्रतिशतसम्म कम खर्च लाग्ने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले बताए ।