गुणस्तर तथा नापतौल कार्यालय विराटनगरद्वारा १ करोड ६३ लाख रुपैयाँ राजश्व असुली

  • चिरफार डटकम, विराटनगर १५१  पटक हेरिएको

बुधबार, साउन ०६, २०८३ समय : १५:१६:४१ , १७ घन्टा अगाडि

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/०८३ मा १ करोड ६३ लाख ९८ हजार रुपैयाँ राजश्व असुली गरेको छ ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरका कार्यालय प्रमुख शम्भुकुमार झाले आर्थिक वर्ष २०८२/०८३ मा ६ हजारभन्दा बढी फर्मलाई कारबाही र नवीकरणबाट १ करोड ६३ लाख ९८ हजार रुपैयाँ राजश्व असुली गरेको जानकारी गराए ।

गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले कोशी प्रदेशको १० र मधेश प्रदेशको २ गरी १२ जिल्लामा काम गरिरहेको छ ।

कोशी प्रदेशको झापा, इलाम, पाँचथर र ताप्लेजुङ गरी ४ जिल्ला बाहेक मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, संखुवासभा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुंगा, सोलुखुम्बु र मधेश प्रदेशको सप्तरी र सिराहा जिल्लामा काम गर्ने अख्तियारी प्राप्त सरकारी कार्यालय हो ।

कार्यालय प्रमुख झाले आर्थिक वर्ष २०८२/०८३ मा १ हजार ६ सय ४५ जना नयाँ व्यवसायी फर्मले व्यापारका लागि अनुमति लिएको  बताए ।

२ हजार १ सय २३ जना व्यवसायी फर्मले यन्त्रको नियमित जाँच परीक्षण गराएको र ३ हजार ५ सय ७८ जना व्यवसायीक फर्मको म्याद फेल भइसकेको व्यवसायीले फर्मको नवीकरण गराएको कार्यालय प्रमुख झाले बताए ।

कार्यालयले ३८ पटक गरेर २ सय ४१ व्यवसायीक फर्मको एक्कल अनुगमन र ४ पटक गरेर २४ व्यवसायीक फर्मको संयुक्त अनुगमन गरेको कार्यालय प्रमुख झाले बताए ।

कार्यालयले सत प्रतिशत भौतिक प्रगति ९५.०९ प्रतिशत वित्तीय प्रगति गरेको जानकारी गराएको छ । कार्यालयको चालु प्रगति ८८.५२ प्रतिशत रहेको प्रमुख झाले जानकारी गराए ।