कांग्रेसका मन्त्रीले किन राजीनामा दिने ?

  • चिरफार डटकम, विराटनगर १७७  पटक हेरिएको

बुधबार, साउन २७, २०८३ समय : १५:४१:१५ , ५ घन्टा अगाडि

कोशी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूले राजीनामा नदिने निर्णय गरेका छन् ।

कोशी प्रदेश सरकारको नेतृत्व गरिरहेका नेकपा एमाले कोशी प्रदेश संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतकुमार कार्की विरुद्ध अविश्वासको प्रस्ताव आइनसकेको अवस्थामा र देशमा कुनै किसिमको संकटकालको अवस्था नरहेको समयमा सत्ता साझेदार कांग्रेसका मन्त्रीहरूले कोशी प्रदेश सरकारबाट राजीनामा नदिने निर्णय गरेको हो ।

२०८१ भाद्र २८ गतेदेखि कांग्रेसका ५ जना मन्त्रीहरू कोशी प्रदेश सरकारमा सहभागी छन् । कांग्रसबाट प्रदिपकुमार सुनुवार भौतिक पूर्वाधार विकास मन्त्री, भीम पराजुली पर्यटन, वन तथा वातावरण मन्त्री, मो. इसरायल मन्सुली उद्योग, कृषि तथा सहकारी मन्त्री, मानबहादुर लिम्बु स्वास्थ्य मन्त्री र शोभा चेम्जोङ भौतिक पूर्वाधार विकास राज्य मन्त्री कोशी प्रदेश सरकारमा मन्त्री रहेका छन् ।

बुधवार चिरफार डटकम सँग कुरा गर्दै कांग्रेसबाट सरकारमा सहभागी स्वास्थ्य मन्त्री मानबहादुर लिम्बुले भने: नत मुख्यमन्त्री हिक्मत कार्की विरुद्ध अविश्वासको प्रस्ताव आएको छ ।

नत देशमा संकटको अवस्था छ । नत राजनीतिक दल फुटेको छ । यस्तो अवस्थामा सरकारमा सहभागी कांग्रेसका मन्त्रीले राजीनामा दिने कुरै आउँदैन । तर सरकारले बोलाएको मन्त्री परिषद्को बैठकमा कांग्रेसका मन्त्रीहरू सहभागी हुने स्वास्थ्य मन्त्री लिम्बुले बताए ।

सत्ता साझेदार कांग्रेसका मन्त्रीलाई बाहिर पठाएर एमालेले नेकपालाई सरकारमा सहभागी गराउने नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) बिच सहमति भएको छ । जुन सहमति बाहिर आइसकेको छ।